काठमाडौं । किसानले चैते धानको उचित मूल्य नपाएको गुनासोपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीच आज छलफल भएको छ । वाणिज्य मन्त्रालयमा भएको छलफलमा दुवै मन्त्रालयका सचिव, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतको सहभागिता थियो ।
बैठकमा चैते धानको हालको अवस्था, किसानले उचित मूल्य नपाउनुका कारण, भारतबाट हाल चामल आयातको अवस्था, खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान,चामलको मौज्दात, खाद्यले किसानको चैते धान खरिद गर्न सक्ने अवस्था र भण्डारण क्षमता लगायतका विषयमा छलफल भएको छ ।
दुई मन्त्रालयबीच हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त भण्डारण क्षमता नभएकाले यसका लागि पहल गर्ने, चामल, चिउरा र भुजिया निर्यातका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने, खाद्यमार्फत धान खरिद गर्नका लागि अर्थ मन्त्रालयसँग बजेट लगायतका विषयमा पहल गर्ने निर्णय भएको छ ।
बैठकमा कृषिमन्त्री अधिकारीले जसरी र जुन व्यवस्था गरेर भए पनि किसानले चैते धानको उचित मूल्य पाउनुपर्ने बताउनुभयो । उद्योगमन्त्री भण्डारीले कृषि, उद्योग, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग समेत बसेर समस्याको समाधान र यस विषयमा आगामी रणनीति तय गर्नुपर्ने बताउनुभयो ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, वाणिज्य तथा आपूर्ति सचिव डा. रामप्रसाद घिमिरे र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हालको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८ सय ६९ पैसा तोके पनि झापा लगायत पूर्व र पश्चिमका जिल्लाहरूमा किसानले १५ देखि १६ सय रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था आएको बताएका छन् । हाल डेढ लाख मेट्रिक टनको हाराहारीमा किसानसँग बिक्रीका लागि रहेको अनुमान छ । पछिल्लो समय मात्र भारतबाट ३१ अर्ब जतिको चामल आयत भएको छ ।