बागमती प्रदेशले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट

असार २, २०८२
बागमती प्रदेशले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आइतबार राति प्रदेशसभामा पेस गरेको बजेटमध्ये आगामी आर्थिक वर्षका लागि लागि चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ पुँजीगततर्फ ४२ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ बजेट विनियोजन गर्नुभएको हो ।

बजेटमा खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २८ अर्ब ८७ करोड ८२ लाख १ हजार रुपैयाँ, अन्य राजस्वतर्फ ६ अर्ब ७९ करोड ४ लाख १३ हजार, संघीय वित्तीय हस्तान्तरणबाट ४१ अर्ब ८१ करोड ९३ लाख, चालु आवको सञ्चित कोषको बचत तथा विविध प्राप्तिबाट १६ अब ९८ करोड ९४ लाख १३ हजार रुपैयाँ अनुमान गरिएको छ ।

बागमतिको चालु आर्थिक वर्षको तुलनामा करिब ३ अर्ब ७ करोड रुपैयाँ बढी बजेट ल्याएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहलाई अनुदान र कर बाँडफाँडबापत १४ अर्ब १५ करोड ८९ लाख हस्तान्तरण गर्ने भएको छ । प्रदेश स्थानीय तहका लागि सम्मानीकरण अनुदान १ अर्ब ६६ करोड रुपैयाँ हस्तान्तरण गर्ने बजेट वक्तव्यमार्फत उपलब्ध गराउने जनाएको हो । 

सशर्त अनुदानबापत ३ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ, समपुरक अनुदानबापत २ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ, विशेष अनुदानबापत ७६ करोड ३० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । सवारी कर बाँडफाँडबापत प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ५ अर्ब ५० करोड रुपैयाँ हस्तान्तरण गर्ने अनुमान गरिएको छ ।