कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ आनन्दटोलका नरेश सुनारले साउदी अरबमा झन्डै ५ वर्ष बिताउनुभयो । माटोले चिँडेको, टायलले छाएको कच्ची घरमा बुबाआमालाई छोडेर परदेशिएका नरेशका थुप्रै सपना थिए ।
त्यसैले उहाँले विदेशमा कमाएको पैसा जम्मा पार्दै त्यसलाई भविष्यको लगानीका लागि सँगाल्दै जानुभयो । कोरोनाको महामारीले सारा काम ठप्प भएपछि उहाँ घर फर्किन बाध्य हुनुभयो । तर, त्यही मोडमा जीवनले उहाँलाई नयाँ बाटो देखायो ।
नरेशको नेतृत्वमा तीन भाइको सहकार्य भयो । बेलडाँडीबाट करिब ३५ किलोमिटर टाढा महेन्द्रनगरमा स्थापना गरियो, ब्रहृमा युपीभीसी झ्याल ढोका उद्योग । नरेशको परिवारकै पूँजी, पसिना र विश्वासबाट सुरू भएको यो उद्योग, अहिले सुदूरपश्चिममै उदाहरणीय बनेको छ ।
रेमिट्यान्सको लगानीमार्फत उद्यमी बन्ने एउटा गज्जबको उदाहरण हो, ब्रहृमा युपिभिसी झ्याल ढोका उद्योग । अहिले यस उद्योगबाट नरेशको परिवारले मासिक डेढ लाख आम्दानी गरिरहेको छ । यहीबाट केही श्रमिक दक्षता प्राप्त गर्दै अन्यत्र गइसकेका छन् । अहिले नरेश, उहाँका कान्छा भाइ दिनेशसँगै आठ जनालाई उद्योगमा प्रत्यक्ष रोजगारी मिलेको छ ।
नरेशका जेठा दाजु सन्तोष, नेपाली सेनाबाट सेवानिवृत्त भएपछि तरकारी खेतीमा लाग्नुभएको छ । बुबा गम्भीरे र आमा खिन्तुरी घर र खेतीपातीमै व्यस्त हुनुहुन्छ ।
नरेशको परिवारको उद्यमशीलताको यात्रा व्यक्तिगत सफलताको कथा मात्रै होइन, यो त वैदेशिक रोजगारीमा गएका युवाले स्वदेश फर्किएर पनि आफूले साँचेका सपनाहरु साकार पार्न सक्छन् भन्ने कुराको प्रेरणादायक उदाहरण हो ।