काठमाडौं । नेपालमा हुने खुद विदेशी लगानी घटेको देखिएको छ । नेपालमा लगानी गरेका कम्पनीले नाफाबापत लैजाने रकमको अनुपातमा विदेशी लगानी आउन नसक्दा लगानी घटेको देखिएको हो ।
स-साना लगानी बढे पनि ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सक्ने ठूला उद्योगमा लगानी प्रतिबद्धता बढ्न नसकेको देखिएको छ । नेपाल राष्ट्र बैंकले गत मंगलबार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धि प्रतिवेदनले गत वर्षको तुलनामा यो वर्ष नेपालबाट नाफाका रूपमा बाहिरिने रकम बढेको देखाएको छ ।
आर्थिक वर्ष २०७९/०८० को वैशाखसम्ममा १ अर्ब ८० करोड रकम नाफाका रूपमा बाहिरिएकोमा गत आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा ६ करोड ९० लाखमात्रै बाहिरिएको थियो । तर यो वर्षको वैशाखसम्म भने ४ अर्ब ७० करोड बाहिरिएको छ ।
गत वर्षको वैशाखसम्म ७ अर्ब ४ करोड लगानी भित्रिएकामा यो वर्षको सोही अवधिमा १० अर्ब ६० करोड भित्रिएको छ । तर बाहिरिने रकम बढेकाले खुद लगानी भने गत वर्षको तुलनामा घटेको छ ।
गत वर्ष ६ अर्ब ९७ करोड खुद विदेशी लगानी भएकोमा यो वर्षको सोही अवधिमा यस्तो लगानी ५ अर्ब ८९ करोडमा सीमित भएको छ । अर्थात् खुद लगानी गत वर्षभन्दा १ अर्ब ८ करोडले घटेको छ।
उद्योग विभागले विदेशी कम्पनीले कमाएको नाफा लैजान स्वीकृति दिने रकम पनि बढेको छ। गत वर्षको वैशाखसम्म ९ अर्ब १ करोड नाफाका रूपमा लैजान स्वीकृति दिएकोमा यो वर्षको वैशाखसम्म ९ अर्ब ४९ करोड स्वीकृति गरेको छ। यसरी नेपालबाट लैजाने नाफा बढे पनि सोही मात्रामा बैदेशिक लगानी भने बढ्न सकेको छैन् ।
गत वर्षको वैशाखसम्म ३ सय ७ वटा उद्योगमा ४२ अर्ब ९० करोड लगानी प्रतिबद्धता आएकोमा यो वर्षको सोही अवधिमा ५ सय ७६ वटा उद्योगमा ५७ अर्ब ६ करोड लगानी प्रतिवद्धता आएको छ । वैदेशिक लगानी स्वीकृतिको संख्या बढेपनि यस्तो लगानी साना परियोजनामा सीमित हुँदा वैदेशिक लगानीमा अपेक्षित सुधार देखिएको छैन् ।
गत वैशाखसम्म ५ सय ७६ वटा लगानी स्वीकृति भएकोमध्ये ५ सय ६२ वटा त साना लगानी हुन् । १० वटा मझौला र ४ वटा मात्रै ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको छ।
ठूला र मझौलामा लगानी प्रतिबद्धता न्युन आइरहँदा यही प्रतिबद्धता पनि सहज जग्गा प्राप्ति, भौतिक पूर्वाधार अभाव र लगानी भित्राउने प्रक्रियामा कर्मचारीको उल्झनका कारण प्रतिबद्धता वास्तविक लगानीमा परिवर्तन हुन नसकेको देखिन्छ ।