धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको वजेट ल्याउँदै छ । यस वर्ष पनि नेता कार्यकर्तादेखि सर्वसाधारण नागरीकहरू बजेट माग्नका लागि विभिन्न मन्त्रालयमा धाइरहेका छन् ।
रोजगारीका कुनै अवसर नहुँदा अहिले पनि त्यहाँका अधिकांश नागरिक रोजगारीका लागि भारत जानु पर्ने बाध्यता भएकाले रोजगारमुलक कार्यक्रमहरुलाई वजेटमा समेटिनुपर्ने स्थानीयको भनाइ छ ।
चालु आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाखरुपैयाँको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षको बजेटको आकार भने एकीन गरिसकेको छैन् ।
क्रमागत आयोजना र बहुवर्षीय आयोजनामा बजेट छुट्याउने योजना प्रदेश सरकारको छ । रोजगारमुलक र आयआर्जन हुने खालका कार्यक्रममा पनि बजेट छुट्याउने योजना प्रदेश सरकारको छ । प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई ५ करोड र समानुपातिकलाई तीन करोड बजेट छुट्याउने तयारी सरकारको छ ।
आगामी आर्थिक वर्षमा भने न्युनतम २५ लाख रूपैयाँभन्दा माथिको योजनामा मात्रै बजेट विनियोजन गर्ने र प्रदेश सरकारका कुनै पनि योजना उपभोक्ता समितिमार्फत् कार्यान्वयन नगर्ने प्रतिबद्धता प्रदेश सरकारले गरेको छ ।