रूपन्देही । धान रोप्ने मेसिनको चर्चा चल्न थालेको एक दशक नाघिसक्यो तर यो आधुनिक प्रविधि अझैसम्म पनि आमकिसानको पहुँच बाहिर छ । खेतमा हुनुपर्ने मेसिन किन प्रदर्शनी र केही ठूला फार्ममै सीमित भयो त ? कृषिमा क्रान्ति ल्याउनसक्ने यो प्रविधि विस्तारमा के-के छन् तगारो ?
रूपन्देहीको तिलोत्तमा नगरपालिका-१०, कान्छीबजारको यो दृश्यले कृषिमा आधुनिकताको झल्को दिन्छ, जहाा चारपाङ्ग्रे मेसिनले फटाफट धान रोपिरहेको छ । करिब एक दशकअघि तीनपाङ्ग्रे मेसिनबाट सुरू भएको यो यात्रा अहिले आधुनिक चारपाङ्ग्रे मोडेलसम्म आइपुगेको छ । तर, यो प्रविधि केही सहकारी र व्यावसायिक फार्मको पहुँचमा मात्र छ, आमकिसानका लागि भने यो अझै सपनाजस्तै हो ।
कृषि प्राविधिकहरूका अनुसार मेसिनबाट धान रोप्दा लागत, समय र जनशक्ति तीनै कुरा बचत हुन्छ । परम्परागत तरिकाले दश कठ्ठा धान रोप्न करिब २० देखि २५ जना खेताला दिनभर लाग्छन् । तर यही काम मेसिनले मात्र ३ जनाको सहयोगमा एक घण्टामै सक्छ ।
जहाँ मेसिनको खर्च प्रतिघण्टा करिब ५ हजार रूपैयाँ लाग्छ, त्यति नै खेत रोप्न खेतालालाई १५ देखि २० हजार रूपैयाँ ज्याला दिनुपर्ने हुन्छ । फाइदैफाइदा मात्र छैनन्, चुनौतीहरू पनि उत्तिकै छन् ।
करिब २० लाख रूपैयाँ पर्ने यो मेसिन व्यक्तिले किन्न असम्भवजस्तै छ । मेसिनले रोप्नका लागि विशेष ट्रेमा तयार पारिएको बेर्ना चाहिन्छ, जसको लागि छुट्टै प्रविधि र लगानी आवश्यक पर्छ ।
नेपालका साना र टुक्रिएका गरा, भिरालो जमिन र हिलाम्मे खेतमा यो मेसिन चलाउनु अर्को ठूलो चुनौती हो । तालिम बिना मेसिन चलाउन र मर्मत गर्न कठिन छ ।
अहिले केही सरकारी कार्यालय र फार्महरूले यसलाई प्रदर्शनका लागि मात्र प्रयोग गरिरहेका छन् । किसानसम्म प्रविधि पुर्याउन अब अनुदानको व्यवस्थासँगै स्थानीय सरकारको भूमिका निर्णायक देखिएको छ ।
स्पष्ट नीति, अनुदानको सहज व्यवस्था, तालिम र मर्मत केन्द्रको अभावले गर्दा यो प्रविधि कागज र प्रदर्शनीमा सीमित बनेको छ । सरकारले कृषि यान्त्रीकरणलाई नारामा मात्र होइन, व्यवहारमै उतार्ने दृढता देखाए मात्रै यस्ता मेसिनहरू आमकिसानको खेतमा पुग्नेछन् ।