सार्वजनिक संस्थान : २८ वटा नाफामा, १५ वटा घाटामा

जेष्ठ १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सार्वजनिक संस्थान : २८ वटा नाफामा, १५ वटा घाटामा

काठमाडौं । नेपालमा सञ्चालित सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा चलेका छन् भने १५ वटा अझै घाटामा रहेको सरकारी तथ्य सार्वजनिक भएको छ । संसद्‌मा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चालनमा रहेका २८ वटा संस्थान नाफामा रहेको र १५ वटा घाटामा रहेको बताउनुभयो ।

संस्थानसम्बन्धी प्रतिवेदन अनुसार २ वटा बन्द अवस्थामा रहेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ । जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो । नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रहेको छ । नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ ।

त्यस्तै सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७५ करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड प्राप्त भएको देखिएको छ । कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशत रहेको छ ।

सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्बभन्दा माथि पुगेको छ । आज संसद्‌मा सार्वजनिक संस्थानको वार्षिक स्थिति प्रस्तुत गर्दै ४५ वटा सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब पुगेको बताउनुभयो । 

उहाँका अनुसार अहिले सञ्चालनमा रहेका ४५ वटा संस्थानमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.