पाल्पा । वैदेशिक रोजगारीमा जाने युवाले स्वदेश पठाउने रेमिट्यान्सको सही ढंगले उपयोग गर्न सकियो भने परिवारमा खुसीयाली भित्रिन्छ ।
यसकै उदाहरण हो पाल्पाको तानसेन नगरपालिका-७ प्रभासका उदय पंगेनीको मिहिनेत । पंगेनीले विदेशमा कमाएको पैसा बचत गरी परिवारले व्यवसाय थालेपछि यो परिवारको जीवनस्तरमा आमूल परिवर्तन आएको छ ।
पाल्पा सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा पर्छ, प्रभास क्षेत्र । ३२ वर्षीय उदय पंगेनी वैदेशिक रोजगारीमा दुबई गएको झण्डै दुई वर्ष भयो । दुबईमा उहाँ कम्पनीमा प्याकिङको काम गर्दै मासिक ५० हजारजति कमाउनुहुन्छ ।
उदय नेपालमा छँदा किराना पसल चलाउनुहुन्थ्यो । तर, सोचेजस्तो व्यापार नभएपछि उहाँलाई विदेश जाने मन भयो । उदयले दुबई गएर घरमा नियमित पैसा पठाउन थालेपछि यता श्रीमती अस्मिताले घरैमा रेस्टुरेन्ट सुरू गर्नुभयो ।
दिनमा ८ देखि १० हजारको व्यापार हुने रेस्टुरेन्ट राम्रै चलेको छ । रेस्टुरेन्टसँगै अस्मिताले घरव्यवहार पनि धानिरहनुभएको छ । १०, ६ र युकेजी पढ्ने तीनजना छोराछोरीलाई तयार पारी विद्यालय पठाउने काममा बिहानैदेखि खटिनुपर्छ । रेस्टुरेन्टको कमाइले घरखर्च, छोराछोरी पढाउन पुगेर पनि केही रकम बचत भएको छ । अचेल त श्रीमान् उदयको कमाइ सिंगै बचत हुन्छ ।
रेस्टुरेन्टमा बन्ने विभिन्न परिकार अस्मित आफै बनाउनुहुन्छ । ग्राहकको चाहनाअनुसारका परिकार बनाउने भएकाले एक पटक खाजा खाएका ग्राहक पटकपटक आइरहन्छन् ।
अस्मिताले संघर्षशील महिलाको पहिचान बनाइसक्नुभएको छ । चुनौतीलाई स्वीकार गर्नसक्ने भएकाले उहाँ प्रभास क्षेत्रकै संघर्षशील महिलाको पहिचान बनाउन सफल हुनुभएको हो ।
मुलुकमा रोजगारी नपाएपछि विदेश धाउनु नेपाली युवाको बाध्यता हो । त्यसैले उदयजस्ता धेरै युवा वैदेशिक रोजगारीमा जान बाध्य छन । तिनै युवाले विदेशबाट पठाएको रेमिट्यान्सले घरपरिवारमा सुखी र समृद्धि भित्र्याएको छ ।