चालु आर्थिक वर्षको १० महिनासम्म आयात १३ र निर्यात ७२ प्रतिशतले बढ्याे

जेष्ठ ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
चालु आर्थिक वर्षको १० महिनासम्म आयात १३ र निर्यात ७२ प्रतिशतले बढ्याे

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म आयात १३ प्रतिशत र निर्यात ७२ प्रतिशतले बढेको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाखसम्मको आयात तथा निर्यातको प्रतिवेदन अनुसार १४ खर्ब ७४ अर्ब रूपैयाँको वस्तु आयात भएको छ । 

यस्तै २ खर्ब १७ अर्बको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १३ खर्ब ३ अर्बको वस्तु आयात हुँदा १ खर्ब २६ अर्बको निर्यात भएको थियो । चालु आर्थिक वर्षमा सबैभन्दा बढी ७८ अर्बको भटमासको तेल र १० अर्बको सूर्यमुखी तेल निर्यात भएको छ । 

त्यस्तै ६ अर्बको अलैंची, ४ अर्बको जुस, ८ अर्बको कार्पेट र ४ अर्बको टेक्सटाईल निर्यात भएको छ । त्यस्तै सबैभन्दा बढी पेट्रोलियम पदार्थ २ खर्ब ३२ अर्बको आयात भएको छ । 

यसैगरी २२ अर्बका विद्युतीय सवारी, २८ अर्बका स्मार्ट फोन आयात भएका छन । त्यस्तै भटमासको तेलको कच्चा पदार्थ ८१ अर्ब र सुर्यमुखी तेलको कच्चा पदार्थ २४ अर्बको आयात भएको छ । औषधि र औषधिको कच्चा पदार्थ २५ अर्ब र फलाम ७० अर्बको आयात भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.