काठमाडौं । अर्थतन्त्र चलायमान बनाउने उपाय खाज्न नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधारसम्बन्धी कार्यदलले सुझाव संकलन थालेको छ ।
राष्ट्र बैंकले गत जेठ ३० गते कार्यदल गठन गरेको थियो । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले असारभित्रै सुझावसहितको प्रतिवेदन बुझाउने गरी काम थालेको हो । कार्यदलले अहिले विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिरहेको छ ।
कार्यदलले नियन्त्रणकारी नियमनभन्दा सुपरिवेक्षणलाई प्राथमिकता दिन र ग्रामीण क्षेत्रमा कर्जा बढाउन सुझाव दिने गरी काम सुरू गरेको हो । बैंकहरू मर्जरमा गएपछि परेको प्रभाव र यसले निम्त्याएका समस्या पहिचान गरी राष्ट्र बैंकलाई सुझाव दिने योजना छ ।
बजारमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगाएर रोजगारी सिर्जना गर्ने उपायको खोजी पनि यो कार्यदलले गर्नेछ । यसैगरी कार्यदलले मुलुकलाई 'ग्रे लिष्ट'बाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र सेयर बजारमा राष्ट्र बैंकको भूमिकाका बारेमा पनि अध्ययन गरी सुझाव दिने छ ।
यही कार्यदलको सुझावअनुसार आगामी आर्थिक वर्षको मौद्रिक नीति बनाउने राष्ट्र बैंकको तयारी छ ।