कच्चा पदार्थ र आयुर्वेदिक औषधिमा लगाइएको भ्याटमा पुनर्विचार गर्न अर्थलाई संसदीय समितिकाे निर्देशन

असार ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
कच्चा पदार्थ र आयुर्वेदिक औषधिमा लगाइएको भ्याटमा पुनर्विचार गर्न अर्थलाई संसदीय समितिकाे निर्देशन

काठमाडौं । संसद्को अर्थ समितिले जीआई तारको कच्चा पदार्थमा बढाएको भन्सार दर तथा आयुर्वेदिक औषधिमा लगाइएको मूल्यअभिवृद्धि करमा आवश्यक पुनर्विचार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । 

बढेको करका कारण आन्तरिक उद्योग संकटमा पर्ने गुनासो आएपछि समितिले यसमा आवश्यक पुनर्विचार गर्न सरकारलाई भनेको हो । समितिको बुधबार बसेको बैठकमा २५ उद्योगीले यो वर्षको बजेटमार्फत जीआई तारको कच्चा पदार्थमा लाग्दै आएको भन्सार ५ बाट १० पुर्‍याउँदा समस्या भएको गुनासो गरेका थिए । 

भन्सार महसुल बढ्दा भारत तथा अन्य मुलुकबाट आउने तयारी जीआई तारमा भने ६ प्रतिशत मात्रै भन्सार लाग्ने हुँदा आन्तरिक उद्योग संकटमा पर्ने उनीहरूको भनाइ थियो । 

उद्योग संकटमा पर्दा श्रमिकको रोजगारीसमेत गुम्ने जोखिम भएकाले यस विषयमा अध्ययन गरी करका विषयमा पुनर्विचार गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिको छलफलमा आयुर्वेदिक औषधि उद्योगी पनि पुगेका थिए । उनीहरूले वाह्य मुलुकबाट आयात हुने केही आयुर्वेदिक उत्पादनमा सरकारले मूल्य अभिवृद्धि कर छुट दिएको तर स्वदेशी उत्पादनमा लाग्ने गरेको गुनासो गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.