पाँचथर । पाँचथरको फिदिम बजारमा ढाका कपडा उद्योग चलाउनुहुन्छ प्रतिमा पौडेल । उहाँलाई वैदेशिक रोजगारीमा रहेका श्रीमानको निरन्तरको साथ र सहयोग छ ।
प्रतिमा र तिवेन्द्रको जोडीको मिहिनेत विदेशको कमाइ र देशभित्रको उद्यमशीलता मिल्दा समाज रूपान्तरणमै सहयोग पुग्छ भन्ने गज्जबको उदाहरण बनेको छ ।
प्रतिमाले विद्यार्थी छँदै ढाका कपडा बुन्ने सीप सिक्नुभएको थियो । २०६२ सालतिरै उहाँले फिदिम बजारमा तान राखेर ढाकाको कपडा बुन्न थाल्नुभयो । ६३ सालमा उहाँको विवाह भयो ।
विवाहपछि पनि उहाँले कपडा बुन्न भने छोड्नुभएन । आफूले बुनेका ढाका कपडा बिक्री गर्ने पसलको आवश्यकता महसुस गर्दै उहाँले श्रीमान तिवेन्द्र रानामगरको सल्लाहअनुसार फिदिम बजारको मेन रोडमा पसल खोल्नुभयो । २ जना छोरा हुर्काउन र घरव्यवहार चलाउन यो पसलले धाने पनि बचत गर्न गाह्रो थियो ।
त्यसैले प्रतिमाले श्रीमानलाई वैदेशिक रोजगारीमा दुबई पठाउनुभयो । त्यहाँ ४ वर्ष बसेर फर्किएपछि फेरि भाषा पढेर तिवेन्द्र कोरिया जानुभयो । श्रीमान कोरिया गएपछि पठाएको कमाइ पसलमै थपेर प्रतिमाले व्यवसाय विस्तार गर्नुभयो ।
अनुभवले उहाँलाई ढाका उत्पादकबाट अब प्रशिक्षकका रूपमा स्थापति गर्दैलग्यो । उहाँका श्रीमान तिवेन्द्र कोरिया बसेको आठ वर्ष भइसक्यो । यो अवधिसम्म यो दम्पतीले फिदिम बजारमा घर बनाउनुभयो भने फिदिम-४ मा घडेरी जोड्नुभयो ।
प्रतिमाले पसलका लागि दुईवटा सटर भाडामा लिनुभएको छ । सटरभाडा र तान राखेको जग्गा भाडावापत मात्रै मासिक ३५ हजार रूपैयाँ तिर्नुपर्छ । योसँगै काठमाडौंमा १२ कक्षामा पढिरहेका एकजना र फिदिमको नीजी विद्यालय ८ कक्षामा पढिरहेका छोराहरूको स्कुल फि, घर खर्च ढाका उद्योगले नै धानेको छ ।
श्रीमान् विदेशमा कमाउने, श्रीमती घरैमा उद्यम गरेर रमाउने । उहाँहरूको यो मिहिनेत र उद्यमशीलतालाई घरेलु तथा साना उद्योग कार्यालयले समेत पुरस्कृत गरेको छ ।
प्रतिमाको उद्योगमा ढाकाको रूमालदेखि, सारी, चोलो, कोट, लेहंगा, टोपी, कुर्ता ब्लाउज, बर्की उत्पादन हुन्छ । ती सामग्री घर घरमा आयोजना हुने विवाह उत्सवदेखि ठूल्ठुला सांस्कृतिक कार्यक्रम तथा महोत्सवहरूमा खपत हुन्छन् । माग काठमाडौंसम्म पनि छ ।