काठमाडौं । गभर्नर सिफारिसका लागि बनेको समितिको बैठक बस्न नसकेपछि समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिनुभएको छ ।
मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । जसमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य चयन गरिएको थियो ।
लामो समयसम्म पनि बैठक नबसेपछि गभर्नर चयनमा समितको भूमिका नै नजरअन्दाज गरिएको भन्दै भट्टराईले राजीनामा दिनुभएको हो । भट्टराईले अर्थमन्त्रीलाई राजीनामाबारे जानकारी गराइसकेकाले छिट्टै लिखित जानकारी पठाउने बताउनु भयो ।
राष्ट्र बैंक ऐन अनुसार एक महिनाअघि नै गभर्नर सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, चैत २४ गते नै महाप्रसाद अधिकारी राष्ट्रबैंकको गभर्नरबाट बाहिरिए पनि सरकारले अहिलेसम्म नयाँ गभर्नरको सिफारिस समेत गर्न सकेको छैन । नेपाली कांग्रेस र एमालेमा कसले गभर्नर बनाउने भन्ने टुंगो नलागेकै कारण समितिको बैठक बस्न सकेको छैन ।