मधेश प्रिमियर लिगको उपाधिका लागि मिथिला वारिर्यस् र सप्तरी बलानबिहुल किङ्ग्सबीच प्रतिस्पर्धा हुने

वैशाख १०, २०८२ |आरएन विश्वास
मधेश प्रिमियर लिगको उपाधिका लागि मिथिला वारिर्यस् र सप्तरी बलानबिहुल किङ्ग्सबीच प्रतिस्पर्धा हुने

काठमाडौं । मधेश प्रिमियर लिगको उपाधीका लागि भोलि मिथिला वारिर्यस् र सप्तरी बलानबिहुल किङ्ग्सबीच प्रतिस्पर्धा हुने भएको छ । राजविराजस्थित पवि माविको क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा मिथिला वारियर्यसले जनकपुर सनराईजलाई ६ विकेटले पराजित गरेको हो । अर्को सेमिफाइनलमा बलानबिहुलले काठमाडौं रोयलर्सलाई ३१ रनले पराजित गरेको हो ।

पहिलो सेमिफाइनलमा टस जितेर जनकपुरले ब्याटिङ गर्दै १७ दशमलव ३ ओभरमा अलआउट भई ८८ रन बनाएको थियो । उसका लागि विशाल सुस्लिङले सर्वाधिक ३४ र आरिफ शेखले २५ रन जोडे । बलिङतर्फ मिथिला वारियर्सका शेर मल्लले ३, कुशल भुर्तेल र नन्दन यादवले समान २/२ विकेट लिएका थिए ।

जवाफमा ८९ रनको सामान्य लक्ष्य मिथिला वारियर्सले १५ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो । मिथिलालाई फाइनलमा पुर्‍याउन कुशल भुर्तेलले सर्वाधिक २७ रन बनाए भने बसिर अहमदले १४ तथा दीपेन्द्रसिंह ऐरीले अविजित १९ रनको योगदान गरे । बलिङतर्फ जनकपुरका बिपिन खत्री र फदेह सिद्दिकीले समान २/२ र तुलबहादुर मगरले एक विकेट लिए ।

यसैगरी, दोस्रो सेमिफाइनलमा पहिलो ब्याटिङको निम्तो पाएको बलान बिहुलले निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर २ सय १० रनको विशाल योगफल खडा गर्‍यो । बलानका लागि तीन खेलाडीले अर्धसतक बनाए। ५ चौका र ५ छक्का प्रहार ग रेका राशिद खानले अविजित ६२ रन बनाए भने सुजन थपलियाले ५८, लोकेश बमले ५१ रनको इनिङ खेले । बलिङतर्फ काठमाडौंका दीपेश श्रेष्ठ २ तथा तृतराज दास, नरेश साउद, रामनरेश गिरीले समान १/१ बिकेट लिए ।

२ सय ११ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा ९ बिकेट गुमाउँदै १ सय ७९ रनमा समेटियो। उसका लागि अमित श्रेष्ठ ४९, अशोक पौडेल ३९ र तृतराजले ३७ रन बनाए । बलिङमा बलानका बिवेक यादवले सर्वाधिक ४ विकेट लिए भने राशिद खान, भुवन कार्की, श्रवण यादव र फिर्दोष अन्सारीले समान १-१ विकेट लिएका थिए ।

प्रतियोगिता विजेताले ९ लाख र उपविजेताले ४ लाख पाउने छन्। यस्तै आयोजकले म्यान अफ दी सिरिज हुने खेलाडीलाई नगद १ लाख ५१ हजार प्रदान गर्नेछ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।