काठमाडौं । भटमास र सूर्यमुखी तेलको निर्यात बढ्दा चालु आर्थिक वर्षको ८ महिनामा निर्यात ५७ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आयात–निर्यात तथ्यांक अनुसार फागुनसम्म ११ खर्ब ४५ अर्ब ५६ करोडको वस्तु आयात भएको छ भने १ खर्ब ५८ अर्ब १७ करोडको वस्तु निर्यात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ११ प्रतिशत र निर्यात ५७ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको अहिलेसम्म पेट्रोलियम पदार्थ १ खर्ब ६२ अर्ब ६६ करोडको आयात भएको छ भने विभिन्न प्रकारका बीउ १६ अर्ब ६३ करोडको आयात भएको छ । त्यस्तै भटमासको तेलको कच्चा पदार्थ ५१ अर्ब ३५ करोड र सूर्यमुखी तेलको कच्चा पदार्थ २० अर्ब २६ करोडको आयात भएको छ । त्यस्तै पछिल्ला वर्षहरूका स्मार्ट फोनको आयात पनि निरन्तर बढ्दै गएको छ ।
यो ८ महिनाको अवधिमा मात्रै २१ अर्ब ९१ करोडको स्मार्टफोन आयात भएको तथ्यांकमा उल्लेख छ । त्यस्तै औषधि र त्यसको कच्चा पदार्थ २० अर्बको आयात भएको छ भने स्टिल तथा फलाम ५६ अर्ब ९५ करोडको आयात भएको छ । ९ अर्बको विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् भने १४ अर्ब ३७ करोडको सुन आयात भएको छ ।
त्यस्तै भारतले भटमास र सूर्यमुखी तेलको कच्चा पदार्थमा भन्सार वृद्धि गरेयता नेपालमा प्रशोधित खाने तेलको निर्यात बढ्दै गएको छ । चालु आर्थिक वर्षको अहिलेसम्म ४७ अर्ब ९४ करोडको भटमासको तेल र ७ अर्ब ९८ करोडको सूर्यमुखी तेल निर्यात भएको छ ।
त्यस्तै ७ अर्ब २१ करोडको गलैंचा, ५ अर्ब ८४ करोडको अलैंची, ३ अर्ब २१ करोडको चिया र ३ अर्ब ३१ करोडको जुस निर्यात भएको छ । त्यस्तै २ अर्ब ५३ करोडको छुर्पी र ३ अर्ब १३ करोडको फेल्ट निर्यात भएको छ भने ६ अर्ब ८७ करोडको स्टिल तथा आइरन निर्यात भएको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको फागुनमा मात्रै १ खर्ब ५७ अर्बको वस्तु आयात भएको छ भने ३१ अर्बको वस्तु निर्यात भएको छ । पछिल्लो दुई वर्षदेखि घट्दो क्रममा रहेको आयात तथा निर्यात तीन महिनायता बढ्दै गएको छ ।