काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौंमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गर्नुभएको छ । नेपालका लागि जापानका राजदूत मायडा तोरुसँग सिंहदरवारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि राजदूतसमक्ष आग्रह गर्नुभएको हो ।
मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
नेपालले कृषिमा लगानी दशक घोषणा गरी लगानी भित्र्याउने नीति लिएको भन्दै मन्त्री अधिकारीले जापानी लागानीकर्ताहरुलाई पनि नेपालमा लगानीका लागि सहजीकरण गरिदिन राजदूतसमक्ष आग्रह गर्नुभयो । आगामी वर्ष नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्ष पुग्ने उल्लेख गर्दे मन्त्री अधिकारीले यस अवसरमा समेत जापानको निस्वार्थ सहयोगमा अझ वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो ।
जापानी राजदूत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै कृषिमा हाल जारी सहयोगलाई निरन्तरता दिँदै आगामी दिनमा सहयोगका थप सम्भावनाहरुको अध्यायन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जापानले कृषिको विकासमा उपकरणको प्रयोगलाई महत्व दिएको उल्लेख गर्दे नेपालले पनि कृषिमा आधुनिकीकरण गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालको चिया र हर्बल उत्पादनहरुको जापान राम्रो बजार हुन सक्ने भएकाले यसको निर्यातका लागि सहकार्य गर्न सकिने पनि राजदूत तोरुले जनाउनुभयो ।