काठमाडौं । आन्दोलनरत ग्यास उद्योगी र सरकारबीच ५ बुँदे सहमति भएको छ ।
वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट तथा एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच आज भएको वार्तामा सहमति भएको हो ।
वार्तामा ग्यास उद्योगको बाह्य तथा आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको ढुवानी खर्चमा प्रतिसिलिण्डर १२ रुपैयाँ ७५ पैसाले वृद्धि गर्ने निर्णय गरिएको छ ।
यही फागुन १९ गते बसेको निगम सञ्चालक समितिको बैठकले ग्यासको ढुवानी खर्चमा वृद्धि गर्ने निर्णय गरेको थियो ।
यस्तै, हाल ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर फ्ल्याट रकम प्रदान गर्ने या निश्चित प्रतिशतमा प्रदान गर्नेबारे निगमले उपसमिति बनाई अध्ययन अगाडि बढाउने सहमति पनि भएको छ ।
निगमले सम्बोधन गर्न नसक्ने अन्य मागबारे आवश्यक गृहकार्य गरी सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गर्ने निर्णय पनि गरिएको छ यस्तै, एलपी ग्यास उद्योग संघले जारी राखेका आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय पनि वार्तामा भएको छ ।