बेनीको कस्तुरी सहकारीका अध्यक्षकै परिवारले लग्यो बिनाधितो ४८ करोड ऋण, ११ सय बचतकर्ता जोखिममा

फाल्गुन १६, २०८१ |घनश्याम खड्का
बेनीको कस्तुरी सहकारीका अध्यक्षकै परिवारले लग्यो बिनाधितो ४८ करोड ऋण, ११ सय बचतकर्ता जोखिममा

म्याग्दी । बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको ४८ करोड रुपैयाँ नक्कली कागजातका आधारमा अध्यक्षका परिवारले ऋण लगेको पाइएको छ ।

नेकपा एमालेका जिल्ला नेतासमेत रहेका कस्तुरी सहकारीका अध्यक्ष राजेश शाक्यले धितो नराखी सहकारीमा जम्मा भएको रकमको ९१ प्रतिशत रकम ऋण लिएको खुलेको छ । सहकारीका अध्यक्ष शाक्यको श्रीमती, दाजु, दुई जना दिदी, भतिजका नाममा ४७ करोड ९९ लाख २९ हजार १ सय ३८ रुपैयाँ ऋण लगिएको छ । यो रकम सहकारीले लगानी गरेको ऋण रकमको ९१ प्रतिशत हो ।

सहकारीले कुल ५२ करोड ३२ लाख ८२ हजार ऋण लगानी गरेकोमा शाक्यको एउटै परिवारका सदस्यहरूले करिब ४८ करोड रुपैयाँ ऋण लगेर नतिरेपछि करिब ११ सय बचतकर्ताको बिचल्ली भएको छ ।

एक वर्षअघि २७ जना बचतकर्ताले रकम फिर्ता मागेपछि सहकारीमा भएको अनियमितता बाहिर आएको थियो । एक वर्ष बितिसक्दा पनि छानबिन र कारबाही भएको छैन । अध्यक्ष राजेश शाक्यले आफ्ना घरपरिवारका सदस्यहरूको नाममा कर्जा लगे पनि शाक्य आफैंले त्यो सबै रकम चलाएको देखिने छानबिन समितिको प्रतिवेदनमा औंल्याइएको छ । 

सहकारीका व्यवस्थापक लोकबहादुर पुन लोकेश बेनीकै कुमारी सहकारीको १ अर्ब ४९ करोड रकम हिनामिनामा संलग्न भएको प्रमाणका आधारमा थुनामा छन् । एक वर्षअघि नै बेनी नगरपालिकाका मेयर सुरत केसीको संयोजकत्वमा भएको छानबिनमा सबै रकम हिनामिना भएको तथ्य सार्वजनिक भए पनि रकम असुली र हिनामिना गर्नेमाथि अनुसन्धान र कारबाहीसमेत सुरु भएको छैन । 

मेयर केसीसमेत एमालेका नेता हुन् । मेयर संयोजक भएको छानबिन समितिमा उपमेयर ज्योति लामिछाने, तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी, बेनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल सदस्य थिए । सहायक प्रमुख जिल्ला अधिकारी आफैंसमेत रहेर सहकारीमा अनियमितता भएको ठहर गरेको एक वर्ष बितिसक्दा पनि रकम हिनामिनाका प्रमुख योजनाकार शाक्यमाथि अनुसन्धान अघि बढाइएको छैन ।

छानबिन समितिका संयोजक मेयर केसीले गत चैतमा आफूहरूले छानबिन गर्दा सहकारीमा अनियमितता भेटिएको बताउनु भएको छ । उहाँले रकम हिनामिना गरेको देखिएको जनाउँदै हिनामिनाको आधारमा अध्यक्षको सम्पत्ति रोक्का गरिएको जानकारी दिनुभयो । कस्तुरी सहकारीमा भएको आर्थिक अनियमितताबारे प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आफूलाई जानकारी नभएको टेलिफोनमा बताउनुभयो । कसैले उजुरी नगरेको भन्दे प्रमुख जिल्ला अधिकारी ढकालले अनियमितताबारे अनविज्ञता प्रकट गर्नुभयो ।


Image

घनश्याम खड्का

खड्का म्याग्दीका कान्तिपुर टीभी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement