भोटेकोसी पावर कम्पनी र स्थानीयबीच सहमति भएपछि १ महिनादेखि बन्द पावरहाउस सुचारु

आश्विन २७, २०८२ |कमला पाख्रिन
भोटेकोसी पावर कम्पनी र स्थानीयबीच सहमति भएपछि १ महिनादेखि बन्द पावरहाउस सुचारु

सिन्धुपाल्चोक । करिब एक महिनादेखि बन्द रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी पावर कम्पनी र भोटेकोसी गाउँपालिकाभित्रका स्थानीयबीच १० प्रतिशत सेयर वितरण तथा सामाजिक उत्तरदायित्व रकम वृद्धि गर्ने विषयमा सहमति भएको छ । 

प्रतिकित्ता एक सय रुपैयाँ दरका सेयर स्थानीयले लिन पाउने व्यवस्था गर्दै, आवश्यक कर्जा बैंकमार्फत उपलब्ध गराउने र सो कर्जा आगामी एक वर्षभित्र आयोजनाको लाभांशबाट फछ्यौट गर्ने प्रावधानमा सहमति जुटाइएको हो । साथै कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष दिँदै आएको ४९ लाख रुपैयाँ सहयोग रकम बढाएर दुई करोड ५० लाख पुर्याउने निर्णयसँगै सहमति जुटेको हो ।

जेनजी आन्दोलनपछि स्थानीयले पावर कम्पनीको विद्युतगृह बन्द गरेका थिए । स्थानीय माग सम्बोधन गर्दै कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरका सेयर वितरण गर्ने सहमति भएपछि सोमबारदेखि पावरहाउस पुनः खुल्ने भएको छ । आइतबार दिउँसो कम्पनीका प्रतिनिधि, गाउँपालिका जनप्रतिनिधि, जेनजीका अगुवा तथा स्थानीय प्रतिनिधिहरूबीचको सर्वपक्षीय बैठकले सहमति जुटाएको हो । कम्पनीले उत्पादन सुरु गरेको २५ वर्षपछि मात्रै स्थानीयवासीलाई सेयर प्रदान गर्न लागेको हो ।

यसअघि सन् २०७१ पुसमा राजनीतिक दलहरूसँग ६ प्रतिशत सेयर दिने सहमति भए पनि प्राकृतिक विपत्तिका कारण कार्यान्वयन हुन सकेको थिएन । माथिल्लो भोटेकोसी पावर कम्पनीमा सुरुमा अमेरिकन कम्पनी पान्डा इनर्जीले ९५ प्रतिशत सेयर लगानी गरेको थियो । हाल उक्त लगानी नेपाली व्यवसायी सिद्धार्थ शमशेर राणाको तारा म्यानेजमेन्ट कम्पनीले खरिद गरेको छ।

पावरहाउस बन्द रहँदा कम्पनीले करिब ३० करोड रुपैयाँ बराबरको आम्दानी गुमाएको अपर भोटेकोसी पावर कम्पनी लिमिटेडले जनाएको छ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।