गत वर्षको तुलनामा बैंकहरूको नाफा घट्यो

माघ ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
गत वर्षको तुलनामा बैंकहरूको नाफा घट्यो

काठमाडौं । बैंकहरूको नाफा गत वर्षको तुलनामा घटेको देखिएको छ । गत वर्षको दोस्रो त्रैमास अर्थात् पुससम्म २८ अर्ब ७६ करोड नाफा कमाएका २० बैंकहरूले यो वर्षको सोही अवधिमा २७ अर्ब ४३ करोड कमाएका छन् । अर्थात् बैंकहरूको नाफामा ४.६२ प्रतिशतले गिरावट आएको छ । 

२० बैंकमध्ये ९ वटा बैंकको नाफामा गिरावट देखिएको छ । ११ वटा बैंकको भने नाफा केही बढेको छ। नियमित ब्याज र किस्ता नउठेकाले बैंकहरूको खराब कर्जा पनि बढेको देखिएको छ ।

ऋण विस्तार सुस्त भएका बेलामा कर्जा असुलीमा नै समेत समस्या देखिएको छ । दोस्रो त्रैमाससम्ममा २० वटा वाणिज्य बैंकमध्ये १९ वटाको खराब कर्जा बढेको छ भने एभरेष्ट बैंकको मात्रै खराब कर्जा घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म २० वटा बैंकहरुको औसत खराब कर्जा ३ दशमलव चार-शून्य रहेकामा यो वर्षको सोही अवधिमा १.०९ बिन्दुले बढेर ४ दशमलव चार नौ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई खराब कर्जा ५ प्रतिशतको सिमामा राख्न निर्देशन दिएको छ । ५ प्रतिशतको सीमा नाघेमा राष्ट्र बैंकले बैंकहरूलाई लाभांश वितरणमा नै रोक लगाउँछ । खराब बनेका कर्जाको बैंकहरूले सतप्रतिशत रकम प्रोभजनिङ गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement