पर्यटन विकासका लागि पूर्वाधार आवश्यक : अध्यक्ष ढकाल

माघ ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पर्यटन विकासका लागि पूर्वाधार आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताउनुभएको छ । कास्कीको मादी गाउँपालिका-१ स्थित सिक्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले आर्थिक विकासका लागि पर्यटन महत्त्वपूर्ण क्षेत्र भएको धारणा राख्नुभयो ।

उहाँले सिक्लेसमा नयाँ केबलकार निर्माणको चरणमा रहेको र केबलकार निर्माणसँगै त्यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिने समेत बताउनुभयो । “सिक्लेस एउटा आर्कषक पर्यटकीय गन्तव्यका रूपमा देश तथा विदेशमा प्रख्यात नै छ । यद्यपि केबलबार निर्माणले सिक्लेसमा नयाँ पर्यटकीय पूर्वाधार थपिनेछ । केवलकारको निर्माण यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्द्धन, आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्ने छ”, उहाँले भन्नुभयो ।

सिक्लेसदेखि कोरीसम्म बन्ने नयाँ बन्ने केबलकारको लागि प्रक्रियागत कामहरू सकिइसकेको उहाँले जानकारी दिनुभयो ।

मेलाको उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले पर्यटनलाई आर्थिक विकासको आधार रहेको उल्लेख गर्दै पूर्वाधार विकास तथा अन्य सहजीकरणका लागि सरकार सधैं तयार रहेको बताउनुभयो ।

पर्यटकीय गाउँ सिक्लेसबाट नजिकै अन्नपूर्ण र लमजुङ हिमशृंखला देख्न सकिन्छ । सिक्लेस पोखराबाट करिब ४० किलोमिटरको दूरीमा कास्कीको उत्तरपूर्वी भेगमा पर्दछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement