उर्जा विकास मार्गचित्र : १० वर्षभित्र विद्युत् जडित क्षमता साढे २८ हजार मेगावाट पुर्‍याउने लक्ष्य

१५ हजार मेगावाट बिजुली निर्यात गरिने
पुस २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
उर्जा विकास मार्गचित्र : १० वर्षभित्र विद्युत् जडित क्षमता साढे २८ हजार मेगावाट पुर्‍याउने लक्ष्य

काठमाडौं । आगामी १० वर्षभित्रमा बिजुलीको जडित क्षमता २८ हजार ५ सय मेगावाट पुर्‍याउने गरी तयार पारिएको उर्जा विकास मार्गचित्र आज सार्वजनिक भएको छ । यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको मार्गचित्र आज उर्जा मन्त्रालयले सार्वजनिक गरेको हो ।

२८ हजार ५ सय मेगावाट बिजुली जडित क्षमता पुर्‍याउन थप ४६ दशमलव पाँच अर्ब अमेरिकी डलर लगानी गर्नुपर्ने आँकलनका साथ सरकारले मार्गचित्र बनाएको हो । मार्गचित्रमा आगामी १० वर्षमा १५ हजार मेगावाट विदेश निर्यात गर्ने र आन्तरिक बजारमा १३ हजार ५ सय मेगावाट खपत गर्ने लक्ष्य राखिएको छ ।

भारतमा १० हजार मेगावाट र चीन तथा बंगलादेशमा ५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य सरकारको छ । अहिले ३ हजार २ सय ४३ मेगावाट जडित क्षमता छ । प्राधिकरणले भने अहिलेसम्म १० हजार ३ सय १ मेगावाटको विद्युत् खरिद सम्झौता गरेको छ । सरकारले बिजुली उत्पादन मात्रै हैन, वार्षिक प्रतिव्यक्ति ४ सय युनिट विद्युत् खपत रहेकामा आगामी १० वर्षमा १५ सय युनिट बनाउने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्न संयन्त्र नै स्थापना गर्ने र कार्यान्वयनमा लाने उर्जा मन्त्रालयको भनाइ छ ।

अहिले ९८ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच पुगेको सरकारको दाबी छ । जसलाई आगामी १० वर्षभित्र शतप्रतिशतमा पुर्‍याउने पनि बताइएको छ । अहिले ७ सय मेगावाट बराबरको निर्यात गरिरहेकामा सरकारले १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको छ ।

 जसका लागि ६ हजार ५ सय ७ सर्किट किलोमिटर रहेको प्रसारणलाइनलाई १७ हजार ४ सय ४६ किलोमिटर पुर्‍याउन लक्ष्य राखिएको छ । साथै सवस्टेसनको क्षमता पनि १३ हजार ५० बाट ४० हजार एमभीए पुर्‍याउने लक्ष्य छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement