मोरङ । कोशी प्रदेश सरकारले माघ ११, १२ र १३ गते विराटनगरमा गर्ने भनेको लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लगानी सम्मेलनको तयारी नपुगेको भन्दै सम्मेलनको मिति तीन महिना पछाडि सारेको हो ।
प्रदेश र संघीय सरकारले संशोधन गर्नुपर्ने नीति तथा ऐन नियम संशोधन गर्न समय लाग्ने, परियोजना छनोटका चरण पूरा गर्न समय लाग्ने भएकाले लगानी सम्मेलनको तयारीका लागि समय नपुगेको बताइएको छ । लगानी सम्मेलनमा हुने खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन खरिद ऐन पूर्णरूपमा पालना गर्न कम्तीमा तीन महिना समय लाग्ने भएकाले पनि सम्मेलनको मिति सार्नु परेको प्रदेश सरकारको स्पष्टोक्ति छ ।
यसका अलावा मन्त्रिपरिषद्ले प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश बीउविजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने र कोशी प्रदेश आम सञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफलका लागि पेश गर्ने निर्णय गरेको छ ।