काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ३.४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । कार्यालयले गत वर्षको पहिलो त्रैमासिकको तुलनामा यो वर्ष साउनदेखि असोजसम्म जीडीपी वृद्धि हुने आकलन गरेको हो ।
विद्युत् उत्पादन तथा वितरणमा आएको सुधार, कृषि उत्पादनमा भएको वृद्धि, पर्यटक आगमनले होटल तथा यातायात क्षेत्रमा आएको सुधारले जीडीपी बढाउन मद्दत पुगेको तथ्यांक कार्यालयले जनाएको छ ।
कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये १२ वटामा सुधार आए भने बाँकी ६ वटा क्षेत्र ऋणात्मक रहे । गत वर्षको पहिलो त्रैमासिकमा कृषि, वन तथा मत्स्यको योगदान १.१ बाट ३ प्रतिशतमा पुगेको छ । विद्युत्, ग्याँस तथा एअरकन्डिसन जस्ता वस्तुको उपभोग २१.४ प्रतिशत पुगेको छ ।
निर्माण क्षेत्रको योगदान भने करिब ७ प्रतिशतबाट अहिले ऋणात्मक बनेको छ । यातायात क्षेत्रको वृद्धिदर दोब्बरले बढेको र सेवा क्षेत्रको योगदान पनि बढेको कार्यालयले जनाएको छ ।