बर्दियामा वार्षिक ७४ हजार मेट्रिक टन तरकारी उत्पादन, घट्यो परनिर्भरता

पुस २४, २०८१ |कमल पन्थी
बर्दियामा वार्षिक ७४ हजार मेट्रिक टन तरकारी उत्पादन, घट्यो परनिर्भरता

बर्दिया । बर्दियामा मौसमी र बेमौसमी तरकारी खेती हुने क्षेत्रफल बढ्दै गएको छ । आठ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा गरिएको तरकारी खेतीबाट वार्षिक करिब ७४ हजार मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ । बर्दियाका अधिकांश ग्रामिण क्षेत्रमा तरकारी उत्पादन बढ्दै गएपछि परनिर्भरता समेत कम हुँदै गएको छ ।

बर्दिया सदरमुकाम गुलरियाको बालापुर गाउँ तरकारी खेतीको हब बनेको छ । यहाँको तरकारी नेपालगञ्ज, धनगढीसम्म जान्छ । केही समयअघि दाङसम्म बर्दियाका तरकारी बिक्री वितरण भएको थियो । तरकारीको मौसममा मल र बीउको अभावकै बीच किसानले राम्रो उत्पादन गरिरहेका छन् । उत्पादन बढेसँगै तरकारीमा भारतसँगको परनिर्भरता कम भएको छ । 

अझै भारतबाट अवैद्यरूपमा आउने तरकारी नियन्त्रण हुन सकेको छैन । तरकारीको अवैध आयात रोकियो भने यहाा उत्पादित तरकारीले राम्रो मूल्य पाउने किसान बताउँछन् ।

यो मौसममा अधिक फल्ने गोबी, लौका, बोरी, काक्रा, खुर्सानी, टमाटर लगायतका तरकारीको माग बढी छ । बर्दिया तरकारी खेतीमा आत्मनिर्भर नजिक छ । हिउँदमा र वसन्त ऋतुमा ८० प्रतिशतभन्दा बढी तरकारी बर्दियामा उत्पादन हुने गरेको छ । हिउँदे मौसममा टमाटर लगायतका तरकारी अन्य जिल्लामा समेत जाने गरेको छ ।

अन्य बालीभन्दा तरकारी खेतीमा दोब्बरभन्दा बढी आम्दानी हुने भएपछि बर्दियाका थारू समुदाय तरकारी खेतीमा लागेका हुन् । यसले उत्पादन र आयआर्जन दुवैमा सुधार भएको छ । 


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement