नयाँ वर्षमा महोत्सवमय बन्यो पोखरा, पर्यटन क्षेत्र चलायमान

पुस १७, २०८१ |इन्द्र पौडेल|भुपाल गुरुङ
नयाँ वर्षमा महोत्सवमय बन्यो पोखरा, पर्यटन क्षेत्र चलायमान

कास्की । नयाँ वर्षमा पर्यटकीय राजधानी पोखरा महोत्सवमय बन्यो । पोखरामा पर्यटक लक्षित सडक महोत्सव, हट एअर बेलुन र ड्रागन बोट फेस्टिभल भए । पर्यटन प्रवर्द्धनको उद्देश्य राखेर गरिएका यस्ता महोत्सवले पोखराको पर्यटन क्षेत्र थप चलायमान बनेको छ ।

'सडकमै खाऔं, सडकमै रमाऔं" भन्ने नाराका साथ रेस्टुरेन्ट एन्ड बार एसोशिएशन (रेवान) पोखराको आयोजनामा पुस १७ गतेसम्म लेकसाइडका चार किमी क्षेत्रमा २६औं सडक महोत्सव भयो । पोखरामा प्रकृतिसँगै संस्कृति पनि हेर्न पाइन्छ भन्ने देखाउन मौलिक कला, संस्कृति, वेशभूषा प्रदर्शनी मात्र गरिएन स्थानीय खानाका साथै उत्पादित वस्तुको बिक्री वितरण पनि भयो । रात्रिकालीन कन्सर्ट र आतसबाजीले पोखरा रंगीन बन्यो ।

सडक महोत्सव हेर्न यस वर्ष हजारौं पर्यटक पोखरा भित्रिए । नयाँ वर्ष मनाउन आन्तरिक मात्र होइन चीन, भारत लगायत देशबाट पनि पर्यटकहरू पोखरा पुगे । मध्यपुसको चिसो मौसममा तातेको पोखरामा पर्यटकहरूले नयाँ वर्षको बिदाई र स्वागत गरे ।

नयाँ वर्षकै अवसरमा पहिलो पटक पोखरामा नौ दिनसम्म आयोजना गरिएको हट एअर बेलुन महोत्सवको पनि पर्यटकले मज्जा लिए । त्यसैगरी पुस १४ र १५ गते भएको अन्तर्राष्ट्रिय ड्रागन बोट फेस्टिभलले पनि पोखराको पर्यटन क्षेत्रलाई थप चलायमान बनायो । फेस्टिभलमा सहभागी हुन चीनबाट विमान नै चार्टर गरेर १२९ जनाको टोली आयो । नयाँ वर्षमा भएका यस्ता मेला महोत्सवले पोखराका पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ ।

सामान्यतः चिसोयाम सुरू भएसँगै पर्यटकीय क्षेत्रमा चहलपहल बिस्तारै घट्छ । पदयात्रा, हिमाल आरोहण, घुमफिर गर्न नेपाल आएका विदेशी पर्यटक घर फर्कन थाल्छन् । तर यस्ता मेला र महोत्सवका कारण विदेशी पर्यटकको बसाइ अवधि बढाइदिएको छ भने आन्तरिक पर्यटकलाई समेत आकर्षित गरेको छ ।


Image

इन्द्र पौडेल

पोखरामा कार्यरत पौडेल कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।

Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।