काठमाडौं । रोजगारीको खोजीमा विदेश पुगेका नेपालीले चालु आर्थिक वर्षको कात्तिकसम्म पाँच खर्ब २१ अर्ब रेमिट्यान्स पठाएका छन् । यही तथ्यांक देखाएर सरकारले देशको अर्थतन्त्र सुधारको सूचकका रूपमा प्रचार गर्दै आएको छ । तर विदेशबाट आएका श्रमिकले पनि नेपालबाट बर्सेनि ठूलो रकम लैजाने गरेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यो आर्थिक वर्षको चार महिनामै विदेशी कामदारले औपचारिक रूपमै दुई अर्ब ५५ करोड रुपैयाँ लगेका छन् । यो तथ्यांकमा भारतीय श्रमिकले लगेको रकम समावेश छैन । राज्यसँग पनि यसको हिसाब छैन । सरकारले भारतीय श्रमिकले लैजाने गरेको रकमलाई औपचारिक बाटोमा ल्याउने प्रयास पनि गरेको छैन ।
गत वर्ष साउनदेखि कात्तिकसम्ममा तीन अर्ब १५ करोड रुपैयाँ विदेशी श्रमिकले लगेका थिए, जुन यस पटकको भन्दा ३१ प्रतिशत बढी हो । अर्थतन्त्र चलायमान नहुँदा यस वर्ष विदेशी श्रमिकले लैजाने रकममा केही कमी देखिएको हो ।
नेपालमा दक्ष श्रमिक नहुँदा विदेशीले ठूलो रकम लैजाने गरेका छन् । अर्थतन्त्र चलायमान भएका बेला यस्तो देखिएको भए यसलाई सकारात्मक रूपमा लिन सकिन्थ्यो । किनभने उच्च सीप र क्षमता आवश्यक पर्ने काम पनि नेपालीले नै गर्न थाले भन्ने बुझिन्थ्यो । तर नेपालबाट कामको खोजी गर्दै बर्सेनि ६ देखि ७ लाख युवा विदेश पुग्ने गरेका छन् । अर्थतन्त्र शिथिल भएका बेलाको यो तथ्यांकले विकास निर्माण सम्बद्ध गतिविधि अघि बढ्न नसकेको देखाउँछ ।
“भारत बाहेक अन्य देशका मानिस पनि आवश्यकता अनुसार नेपालमा काम गरिरहेका हुन्छन् । पाइलट समेत नेपालले हायर गर्ने, डक्टरहरूको सर्भिस लिने, भारतीय टिचरहरूको त पहिले निकै बोलवाला नै थियो । यदि यो बापतको रकम विदेशमा जाने घटिरहेको छ भने नेपाली अर्थतन्त्रले राम्रो गरिरहेको छैन”, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताउनुभयो ।
त्यसो त नेपालमा आएका भारतीय कामदारले वार्षिक कति रकम लैजान्छन् भन्ने तथ्यांक सरकारसँग छैन । न त यस विषयमा सरकारले कुनै अध्ययन नै गरेको छ । अमेरिकी पिउ रिसर्च सेन्टरको अध्ययनले नेपालबाट तीन अर्ब एक करोड अमेरिकी डलर भारत जाने गरेको देखाएको छ । तर भारतबाट नेपालमा एक अर्ब दुई करोड डलर मात्रै आउँछ ।
नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार ४१ प्रतिशत छ । विशेषगरी अनौपचारिक क्षेत्रमा प्रयोग हुने भारतीय कामदारले कति रकम लैजान्छन् र नेपालमा भारतबाट कति रकम आउँछ भन्ने आँकडा सरकारसँग छैन । यस्तो तथ्यांक नहुँदा नीति निर्माणमा समेत असर गर्छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै ३३ देशका ९६६ जना श्रम स्वीकृति लिएर नेपाल आएका छन् । अहिले श्रम स्वीकृति लिएर नेपालमा काम गर्ने विदेशीको संख्या दुई हजार ६८५ छ । उनीहरू उच्च प्राविधिक दक्षता आवश्यक पर्ने विमान कम्पनी, इलेक्ट्रोनिक कम्पनी, नहर तथा जलविद्युत् जस्ता क्षेत्रमा काम गरिरहेका छन् ।
श्रम स्वीकृति लिएर बसेका अधिकांश चिनियाँ नागरिक रहेको सरकारी निकायहरू बताउँछन् । जबकि बजारमा भने अधिकांश कामदार भारतीय भेटिन्छन् । खुला सीमा र भिसा आवश्यक नपर्ने भएकाले भारतीयहरू नेपालमा आएर काम गरिरहेका हुन् । तर कति भारतीयले नेपालमा आएर काम गरेका छन् र वार्षिक कति रकम लगिरहेका छन् भन्ने तथ्यांक नहुँदा सरकारले विदेशबाट श्रमिकले पठाएको रेमिट्यान्स हेरेर मात्र मख्ख पर्ने अवस्था देखिँदैन ।