गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई श्रमिक केन्द्रित बनाउन सरोकारवाला सहमत

मंसिर २१, २०८१ |भुवन पाण्डे
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई श्रमिक केन्द्रित बनाउन सरोकारवाला सहमत

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई श्रमिक केन्द्रित विमानस्थल बनाउन सरकार र निजी सरोकारवाला निकाय सहमत भएका छन् । त्यसका लागि सम्बन्धित निकायहरूले आ-आफ्ना जिम्मेवारीका काम गर्दै विमानस्थललाई चलायमान बनाउनेमा प्रतिबद्धता समेत जनाएका छन् ।

सरकारले श्रमिक आवागमनका लागि अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रित गर्ने गरी काम गरिरहेको जनाएको छ । सुरूआती चरणमा कामदारका लागि विशेष छुट दिएर भए पनि विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्ने तयारी छ । त्यसका लागि सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच विभिन्न चरणमा छलफल पश्चात् समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित मन्त्रालयहरूमा पहल भइरहेको जनाइएको छ ।

वैदेशिक रोजगार कम्पनीले एउटा प्रदेशमा एक मात्र शाखा विस्तार गर्न पाउने नियम छ । भैरहवामा म्यानपावर व्यवसायीलाई आकर्षित गर्न सरकारले कानुन संशोधनका लागि प्रक्रिया अगाडि बढाएको छ । श्रमिकको स्वास्थ्य जााचका लागि विभिन्न देशको फरकफरक नियमले स्वास्थ्य संस्था काठमाडौं केन्द्रित छन् । त्यसको समाधानका लागि कूटनीतिक पहल थालिएको छ । अहिले भएका बाधा फुकाउँदै सहज वातावरण भए भैरहवा आउन तयार रहेको सरोकारवाला बताउँछन् ।

भैरहवाबाट सीधा उडान जजिरा र थाई एअर एसियाले मात्र गर्छ । बाँकी नेपाल एअरलाइन्स, फ्लाइ दुबई र कतार एयरवेजले भैरहवाबाट काठमाडौं अथवा काठमाडौंबाट भैरहवा ट्रान्जिट भएर गन्तव्यसम्म जाने गरेका थिए । जसमा कतार एअरवेजले मंसिर १५ सम्म उडान अनुमति लिएकोमा त्यसपछि उडान भरेको छैन । तर त्यसको कारण भैरहवा विमनस्थलका अधिकारीहरुलाई थाहा छैन ।

सरकारले विमान कम्पनीहरूलाई विशेष प्याकेज सहित छुट दिएकाले एउटा उडानमा कम्पनीले आठ लाख बढी अनुदान पाएका छन् । यसले विमान कम्पनीको लागत घटाएको छ । वैदेशिक रोजगारमा जाने कामदारलाई आकर्षित गर्न सहज वातावरण सहित टिकट शुल्क समेत सस्तो गर्नु पर्ने देखिन्छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement