आईपीओ निष्कासनको अन्तिम तयारीमा होटल सब्रिना

मंसिर १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीओ निष्कासनको अन्तिम तयारीमा होटल सब्रिना

काठमाडौं । होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको सोमबार बसेको छैटौं साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको संस्थापक तथा अध्यक्ष निराजन थापाले जानकारी दिनु भयो ।

९० करोड अधिकृत पूँजी र ५३ करोड रुपैयाँ जारी पूँजी रहेको यस होटलको चुक्ता पूँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

यसका लागि गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरिसकेको छ ।

अबको केही दिनमै नियामक निकाय धितोपत्र बोर्डमा आईपीओ निष्कासनको प्रक्रियामा जाने तयारी भएको कम्पनीको अध्यक्ष निराजन थापाको भनाइ छ ।

काठमाडौंको बूढानीलकण्ठ-६, गणेश चोकमा रहेको होटेल सब्रिनाले आफ्नो क्षमता विस्तार गर्दै पाँच तारे स्तरमा स्तरोन्नति गर्नका लागि आईपीओ आवश्यक भएको जनाएको छ । साथै कम्पनीमाथि भएको केही कर्जालाई चुक्ता गर्ने लगायतको लक्ष्य राखिएको अध्यक्ष थापा बताउनु हुन्छ । ६० वटा कोठामा सेवा सञ्चालन गर्दै आइरहेको यस होटलले अब कोठा समेत थप गर्दै छ ।

होटल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटेल क्रिटिक एन्ड ब्लगर्स एसोशिएशन तथा होटेल डटकमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो । हाल होटेलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्रान्डले गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.