काठमाडौं । विदेशका स्टार खेलाडीहरु भित्र्याएर पहिलो पटक आयोजना गरिएको नेपाल प्रिमियर लिगले देशकै अर्थतन्त्र चलायमान बनाउन सघाएको छ । टिम निर्माणदेखि खेलाडीहरुको होटल बसाइ र यातायातसम्मको उपयोगले घरेलु अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । एनपीएलमा समग्र प्रत्यक्ष आर्थिक कारोबारमात्रै एक अर्ब हुने आँकलन गरिएको छ ।
पहिलो पटक भएको नेपाल प्रिमियर लिगमा एक अर्बभन्दा बढीको प्रत्यक्ष आर्थिक कारोबार हुने आँकलन गरिएको छ । खेलाडीहरुको होटेल बसाइ र खाना, हवाई तथा सडक यातायात, बजारको किनमेल, टिमको ट्यालेन्ट हन्ट र भ्रमण खर्चजस्ता कुराहरुले देशको अर्थतन्त्रलाई चलायमान बनाएको छ । यसका साथै टेलिभिजन र डिजिटल ब्रोडकास्टिङ, विज्ञापन र प्रचार तथा दर्शकको टिकटले पनि एनपीएलमा ठूलो रकमको हिस्सा लिएको छ, जसले देशको समग्र अर्थतन्त्रमा प्रभाव पार्ने अर्थविद् बताउँछन्।
एनपीएल फ्रेन्चाइजले टिम निर्माण, विदेशी खेलाडीको यातायात र तलब, एनपीएल आयोजक क्यानलाई टिम खरिदवापतको रकम, आवास, खाना र टिमको भ्रमणमा खर्च गर्छन् । जसअनुसार एउटा टिमले करिब १० करोड हाराहारीमा खर्च गरिरहेको अनुमान गरिएको छ ।
एनपीएलमा टिमको अक्सनमा १६ करोड ८७ लाख र खेलाडीको अक्सनमा ५ करोड ९२ लाखभन्दा धेरै खर्च गरिएको छ भने विदेश खेलाडीमा गरिएको लगानी ९ करोड आसपासमा रहेको छ । ८ टिमका मार्की खेलाडीहरुले नै समग्रमा एक करोड ६० लाख कमाउने छन् ।
एनपीएलमा भएको समग्र प्रत्यक्ष कारोबारमात्रै एक अर्ब हुने आँकलन गरिएको छ । यसबाहेक राष्ट्रिय भावना जागृत गर्ने विषय त झन् ठूलो हुने नै भयो । खेलाडीको आर्थिक पक्षलाई पनि सबल बनाउँदै लानेछ भने नयाँ पुस्तालाई समेत खेलमा लाग्न प्रेरित गर्नेछ ।
यसका अलावा अन्तराष्ट्रिय खेलाडीको आगमन र विदशी सञ्चारमाध्यममा नेपालको खेल र समग्र नेपालकै बारेमा हुने चर्चाले आउँदा दिनमा नेपालको पर्यटनमा समेत उत्तिकै सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
दुई वर्ष अघि पोखरामा भएको राष्ट्रिय खेलकुद ६० करोडभन्दा कम लागतमा सम्पन्न भएको थियो । एनपीएलले भने नेपाली क्रिकेटको माध्यमबाट कर्पोरेट क्षेत्रलाई लगानी गर्ने उत्तम विकल्प देखाइ दिएको छ । यसले खेलकुदको माध्यमबाट देशको अर्थतन्त्रका समेत प्रत्यक्ष प्रभाव पार्नेछ ।