बाँके । अन्नभण्डार मानिने तराई मधेशका जिल्लामा खोलिएका गल्ला बजारमा सस्तो मूल्यमा धान बिक्री गर्न किसान बाध्य भएका छन् ।
भारतले धान चामल निर्यातमा लगाउँदै आएको शुल्क हटाएपछि धानको भाउ झन् घटेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि लक्ष्यअनुसार धान खरिद नगर्ने र गल्ला व्यापारीले मूल्य घटाएर लिने भएकाले किसानलाई समस्या भएको हो । यो समस्या बर्सेनि देखिँदै आएको छ । गल्ला बजारमा सरकारले नियन्त्रण गर्न सकेको छैन ।
पश्चिम तराईको प्रमुख गल्लाबजार नेपालगन्जबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गतवर्ष किसानसँग ५१ हजार क्वीन्टल धान खरिद गर्ने भनेको थियो । तर ८ हजार क्वीन्टल मात्र किन्यो । भारतले धान, चामल निर्यात नगर्ने नीति लिँदा त्यसको असर सरकार नियन्त्रित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा पर्यो ।
भारतको धान चामल नआउने भन्ने बित्तिकै खाद्यको भन्दा बढी मूल्य दिएर गल्ला व्यापारीले खरिद गरे । तर केही समयपछि नै भारतले चामल निर्यातमा कडाई गर्ने वित्तिकै नेपाली गल्ला व्यापारीले त्यही धान महंगोमा बेचेका थिए । आफूखुसी मूल्य निर्धारण गर्ने गल्लाबजारमा सरकारले नियन्त्रण गर्न नसक्दा किसान मारमा परेका हुन् ।
यस वर्ष भारतको धान चामल नियन्त्रण गर्ने कुनै नीति देखिएको छैन । बरु उत्पादन धेरै भएकाले भन्सार दर घटाएर निकासी गर्न दिने तयारीमा छ । जसका कारण पूर्वी तराई मधेशका गल्लाबजारमा धानको भाउमा कमी आएको छ । अझ भारतले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत शूल्क हटाएपछि तीन रुपैयाँ मूल्य घटेको छ ।
सोना मन्सुली धान कात्तिकसम्म प्रतिकिलो साढे ३५ रूपैयाँमा बिक्री भइरहेकोमा अहिले साढे ३२ रूपैयाँमा झरेको छ । प्रतिकिलो ३७ रुपैयाँमा बिक्री हुने रञ्जित धान ३४ रुपैयाँ भएको छ । कात्तिक अन्तिम सातासम्म प्रतिकिलो ३८ रुपैयाँमा किनबेच भइरहेको जिरा मसिनो अहिले साढे ३७ रुपैयाँ पर्छ । बजारमा सरकारी नियमन नहुँदा व्यापारीको मनपरी छ ।
पश्चिम तराईको बाँकेमा मात्र यस वर्ष १ लाख ५० हजार टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । जबकी खाद्यले ४० हजार क्वीन्टल मात्रै खरिद गर्दा अरु धान गल्लाबजारका व्यापारीले सस्तोमा किन्ने मौका पाउने देखिन्छ । यसले किसान मारमा पर्ने देखिँदा पनि सरकारले कुनै चासो दिएको छैन ।