संसद्को हिउँदे अधिवेशन आजबाट, अध्यादेश पेश गर्ने कार्यसूची

माघ १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसद्को हिउँदे अधिवेशन आजबाट, अध्यादेश पेश गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरू हुँदैछ । साढे ४ महिनापछि बस्न लागेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । ती अध्यादेश मार्फत ३२ वटा कानुन संशोधन गरिएको छ । बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित अन्य राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ ।

सरकारले भूमि सम्बन्धी केही नेपाल स‌ंशोधन, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन, निजीकरण पहिलो संशोधन अध्यादेशहरू आज प्रतिनिधि र राष्ट्रिय सभामा पेश गर्नेछ । त्यसैगरी आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन लगायत अध्यादेशहरू पनि आज पेश हुनेछन् ।

आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनले स्वीकार नगरे वा सदनको बैठकले त्यसमाथि कुनै निर्णय नलिए सदनको बैठक बसेको ६० दिनपछि अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।

त्यसैगरी यस अधिवेशनमा सरकारले ३० वटा विधेयक संसद्‌मा लैजाने तयारी गरेको छ । यसअघि नै दर्ता भएका २३ विधेयक संसदमा विचाराधीन छन् ।

यसैबीच सभामुख देवराज घिमिरेले संसदको आजबाट सुरू हुने अधिवेशनलाई प्रभावकारी बनाउन आफूले हरसम्भव प्रयत्न गर्ने बताउनुभएको छ । यसपालिको अधिवेशनमा संसद्लाई बिजनेस अभाव नहुने भन्दै उहाँले अधिकतम् विधेयक पारित गर्न प्रयास गर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement