नेपालबाट आजदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु

भारतको बाटो हुँदै राति १२ बजेसम्म बिजुली निर्यात हुने
कार्तिक ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालबाट आजदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु

काठमाडौं । नेपालले आजदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु गरेको छ । आज दिउँसो पौने एक बजेदेखि नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा बिजुली निर्यात सुरु भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टन र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहम्मद फजुल कविरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुआत गरेका हुन् ।

नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौताअनुसार बिजुली निर्यात गर्न थालिएको हो । नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात हुने सम्झौता छ । पहिलो चरणमा आज एक दिनका लागि बिजुली निर्यात हुने छ । योसँगै बंगलादेशसम्म बिजुली निर्यात गर्ने सम्झौता कार्यान्वयनमा गएको छ । ६ वर्षको अथक प्रयासपछि बिजुली निर्यात सम्भव भएको हो ।

प्रतियुनिट ६ दशमलव चार अमेरिकन सेन्ट अर्थात् ८ रुपैयाँ ५८ पैसामा बिजुली बेच्न लागिएको छ । बंगलादेशले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.