सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विभिन्न ठाउँमा सञ्चालनमा रहेका २१ मध्ये १० वटा क्रसरले सरकारी नियमानुसार कर चुक्ता नगरेको पाइएको छ ।
जिल्ला समन्वय सिन्धुपाल्चोकको अनुगमन रिपोर्ट अनुसार पलाञ्चोकीमाई रोडाढुंगा उद्योग, बज्र वासिङ सेन्टर प्रालि, गंगा इन्द्रावती क्रसर उद्योग प्रालि, मदलेश्वरीमाई बालुवा वासिङ सेन्टर, थ्रिजी क्रसर उद्योग प्रालि, एसके बालुवा प्रशोधन, नेपाल निर्माण क्रसर उद्योग प्रालि र कालिञ्चोक भगवती एग्रिगेट प्रालिले कर चुक्ता नगरेका पाइएको हो ।
सबै क्रसर उद्योगले आर्थिक वर्ष ०८०/८१ को पुस मसान्तसम्म तिरिसक्नुपर्ने नियम छ । जरिवाना तिरेर भए पनि कर चुक्ता गर्न जिल्ला समन्वयले सम्बन्धित क्रसर पक्षलाई पत्राचारसमेत गरेको जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकबाट दैनिक पाँच सय गाडी नदीजन्य पदार्थ बालुवा, गिटीलगायत बाहिरिन्छ । तर धेरैजसो क्रसरले उद्योग स्थापना गरेर सामान बेचेको बिक्री कर सरकारलाई तिरेको पाइदैन । स्थानीय करबाहेक नियमानुसार प्रत्यक टिपरबाट आठ सय बिक्री कर क्रसरले तिर्नु पर्ने हुन्छ ।
क्रसर तथा बालुवा प्रशोधन र खानीजन्य उद्योगहरूले नेपालको संविधान, २०७२, वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ को अधीनमा रही वातावरणीय अध्ययन साथै पूरक वातावरणीय अध्ययन प्रतिवेदन तयार पारेर मात्रै उद्योग नियमित सञ्चालन गर्नुपर्ने सरकारी नियमको ठाडो उल्लंघन गर्दै कतिपय क्रसरले न्यूनतम प्रारम्भिक वातावरणीय परीक्षण समेत नगरेको श्रेष्ठले बताउनु भयो ।