त्रिभुवन विमानस्थल : ३५ प्रतिशत उडान कटौतीको बहानामा अचाक्ली भाडा असुली

कार्तिक २३, २०८१ |भरत रावल
त्रिभुवन विमानस्थल : ३५ प्रतिशत उडान कटौतीको बहानामा अचाक्ली भाडा असुली

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गर्ने भएको छ । विमानस्थल स्तरोन्नति गुरु योजनाअन्तर्गत धावन मार्गसँगै ट्याक्सी वे निर्माण गर्न भन्दै प्राधिकरणले विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गर्ने भएको हो । दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानसमेत कटौती भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे कै लम्बाई बराबरको ट्याक्सी वे नभएको र रनवे वरपर ७५ मिटरसम्म समथर जमिनसमेत नभएको भन्दै स्तरोन्नति गर्न लागेको हो । यसका लागि शुक्रबारदेखि रातको समयमा १० घण्टा विमानस्थल बन्द हुँदै छ । राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने भएपछि अन्तर्राष्ट्रियतर्फका सबै रात्रि उडान प्रभावित हुने छन् । जसको विकल्पमा पोखरा र भैरहवा विमानस्थल उपलब्ध भए पनि अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी त्यहाँबाट उडान भर्न तयार छैनन् ।

विमानस्थल स्तरोन्नतिका लागि आन्तरिकतर्फ झन्डै ३० प्रतिशत उडान कटौती गरेको प्राधिकरणले अन्तर्राष्ट्रियतर्फ ३५ प्रतिशतसम्म कटौती गरेको छ । त्यसको असर यात्रुलाई परेको छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकटको मुख्य पाँच गुणासम्म बढेको छ । सामान्य अवस्थामा काठमाडौं दिल्लीको भाडा १० देखि १२ हजारसम्म हुने गरेकोमा अहिले ५० देखि ६० हजार पुगेपछि वैदेशिक रोजगारीका लागि जाने श्रमिकसहितका यात्रुहरू मारमा परेका छन् । 

अन्तर्राष्ट्रिय उडानको भाडामा अस्वाभाविक वृद्धिपछि सरोकारवालाहरूले सरकारका मन्त्रीहरूलाई भेटेर ज्ञापन पत्र नै बुझाएका छन् । भेटका क्रममा परराष्ट्रमन्त्री आरजु देउवा, श्रममन्त्री शरतसिंह यादव र पर्यटनमन्त्री बद्री पाण्डेले हवाई भाडा घटाउन र समस्या समाधान गर्न आवश्यक प्रक्रिया सुरु गर्ने आश्वासन दिएर फर्काइ दिएका छन् । 

आन्तरिकतर्फ धेरै उडान गर्ने बुद्धका १६, यतीका १७ र श्री एयरलाइन्सका दैनिक ५ वटा उडान कटौती भएका छन् ।

आन्तरिकतर्फ अहिले नै टिकटको मूल्य नबढे पनि मागअनुसार आपूर्ति नभए मूल्य बढ्ने वायुसेवा कम्पनीहरू बताउँछन् । केही कम्पनीले शुक्रबारदेखि नै राजधानीबाहिर जहाज लगिसकेका छन् । बुद्धले ७ र यती तथा श्री एयरलाइन्सले ४-४ वटा जहाज उपत्यकाबाहिरका विमानस्थलमा लगेर राखेका छन् ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement