विद्युत प्रसारण लाइन विस्तारका लागि एडीबीबाट ४२ अर्ब ऋण स्वीकृत

महिला तथा उर्जा उद्यमीको सीप विकासका लागि ४ अर्ब अनुदान
कार्तिक २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
विद्युत प्रसारण लाइन विस्तारका लागि एडीबीबाट ४२ अर्ब ऋण स्वीकृत

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालको प्रसारण लाइन विस्तार गर्न ३ सय ११ मिलियन अमेरिकी डलर अर्थात् ४२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । एडीबीले महिला तथा उर्जा सम्बद्ध उद्यमको सिपका लागि ३० मिलियन अर्थात् ४ अर्ब ५ करोड अनुदानसमेत दिने भएको छ ।

एसियाली विकास बैंकले नेपालको प्रसारण लाइन सुधार तथा स्तरोन्नतिका लागि ३ सय ११ मिलियन डलर ऋण स्वीकृत गरेको हो । एडीबीले जारी गरेको विज्ञप्तिमा यो ऋणले अब प्रसारणलाइनको सुधार तथा स्तरोन्नतिका कामबाट नेपालमा रोजगारी सिर्जना तथा व्यवसायसमेत विस्तार हुने उल्लेख छ ।

स्वीकृत ऋणबाट दैलेखदेखि जुम्ला, न्यू बुटवलदेखि लमही, निजगढदेखि रमौली र तीनपिप्लेदेखि ओखरपौवासम्म प्रसारण लाइन निर्माण गरिने छ । जसको कुल लम्बाई २ सय ९० किलोमिटर हुने एडीबीले जनाएको छ । यो रकम कर्णाली र लुम्बिनी प्रदेशको प्रसारणलाइन विस्तारमा पनि लगाइनेछ ।

यसैगरी ८ मेगावाटको कर्णालीमा सोलार आयोजना पनि निर्माण गरिनेछ । एसियाली विकास बैंकले विद्युत् प्राधिकरणको तालिम केन्द्र, स्मार्ट मिटर विस्तार कार्यमा पनि सहयोग गर्ने जनाएको छ ।

यसैगरी एडीबीले ३० मिलियन डलर अनुदान गरिब तथा जोखिम राष्ट्र सदस्यलाई प्रदान गर्ने रकमबाट नेपाललाई दिन लागेको हो । जुन जलविद्युत् व्यवस्थापन र छिमेकी राष्ट्रसागको विद्युत् व्यापारका लागि प्रयोग हुनेछ । त्यस्तै यो रकम महिला उद्यमी र विद्युत्‌सम्बन्धी साना उद्यममा पनि लगानी गरिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement