बाँके । कुनै बेला कसैको भन्सामा काला नमक अर्थात् बासमती जातको चामल पाक्दा पुरै टोल छिमेकमा बासना फैलिन्थ्यो । त्यसमाथि स्वाद पनि मिठो र खाँदा नरम । अहिले काला नमक धान पश्चिम तराईबाट लोप हुने अवस्थामा पुगेको छ । सुनझैं पहेँलै झुलेको धानको बिशाल फाँटमा बासमती देखिँदैन । रैथाने काला नमकको खेती कम हुन थालेपछि कृषि वैज्ञानीहरुले विकल्प खोज्न थालेका छन् । तर, रैथाने जातको बासमतीको बीउ भने संरक्षण हुन सकेको छैन ।
धेरै जातका धान उत्पादन हुने पश्चिम तराईका फााटमा अचेल रैथाने जातको काला नमक अर्थात बासमती धान खासै देखिँदैन । कृषि अनुसन्धान निर्देशनालय खजुराका वाली वैज्ञानिक नवराज आचार्य चिन्तित त हुनुहुन्छ नै बेलैमा यसको संरक्षण र विकल्पतर्फ सोचिएन भने नेपाली रैथाने बासमतीको बास्ना सधैँका लागि समाप्त हुाने उहाँको भनाइ छ । बताउनु हुन्छ ।
भान्छामा भात पाक्दा होस् वा खेतमा धान पाक्दा नै किन नहोस् बासमतीको बास्ना सबैतिर फैलिन्थ्यो । पुर्खाले घर आउने आगन्तुकको सत्कार बासमतीको भात पस्केर गर्थे । मान र प्रतिष्ठाको प्रतीक नै बनेको थियो बासमती । तर, अहिले रैथाने बासमतीको बीउ समेत पाउन कठिन छ । सरकारले सिँचाइ, मल-बीउ समेत उपलब्ध नगराउँदा बासमतीको खेती गर्न छाड्नु परेको किसानहरु बताउँछन् ।
उन्नत धान खेती गर्ने किसानले अनुदान पाउँछन् । तर, रैथाने जातको धानखेती गर्नेले पाउँदैनन् । यसरी कृषि मन्त्रालयले नीतिगत रुपमै रैथाने जातलाई बेवास्ता गर्दै आएको छ । सरकारी बेवास्ताकै कारण बास्नादार धानमा रोग र किरा बढी लाग्ने र बोट ढल्ने भएकाले पनि किसानले काला नमकको खेती गर्न छाडेका हुन् ।
रैथाने वासमतीसँगै श्यामजीरा पनि अचेल खेतमा देखिन छाडेको छ । यी जातको धान लोप भइरहेका बेला अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्र (ईरी ) ले कृषि अनुसन्धान परिषद (नार्क ) लाई दिएको उन्नत जातको होचो काला नमकको बीउ उत्पादन गर्न थालिएको छ । तर, होचो काला नमक रैथानेजस्तो हुँदैन । त्यसो त यसको प्रयोग बढाउन पनि सकिएको छैन ।