काठमाडौं । तिहार भित्रिएसँगै धनतेरसका लागि आज सुन चाँदीका असर्फीसहितका सामग्री किन्नेको घुइँचो देखियो । धनतेरसका दिन किनेको सुन, चाँदी, तामालगायतबाट बनेका सामानको लक्ष्मी पूजाका दिन पूजा गरेमा लाभ हुने विश्वास छ ।
नेपाल राष्ट्र बैंकले धनतेरसलाई लक्षित गर्दै सुन चाँदीको असर्फी बेच्ने गरेको छ । सुनको असर्फी किनबेचका लागि भने आज मात्रै खुला गरिएको थियो । एक दिनमात्रै खुला गरिएकोले आज ग्राहकको भिड थाम्न राष्ट्र बैंकलाई नै हम्मेहम्मे परेको थियो ।
चाँदीका सामग्री किन्नेहरुको काठमाडौंको न्युरोड, चावहिल, असन लगायतका क्षेत्रमा निकै चहलपहल थियो । धनतेरसमा लक्ष्मी, गणेश लगायत भगवानका प्रतिमा, थाल कचौरा, गाग्री, खड्कुला जस्ता सामान धेरै किनबेच हुन्छन् । यसरी किनिएका सामग्रीलाई लक्ष्मीपूजाको दिन पूजा गर्ने चलन छ ।