गौतमबुद्ध विमानस्थलबाट तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने

आश्विन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
गौतमबुद्ध विमानस्थलबाट तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने

रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।

निर्माण सम्पन्न भएको लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्यान्ड मुख्यालय रहेको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन् । 

यी तीन वटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेका छन् । सोहीअनुरुप उडान तालिका बनाएको विमानस्थलले जनाएको छ । फ्लाई दुवईले आगामी कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ । कम्पनीको यो विमानस्थलमा पहिलो उडान हो । हप्ताको सातै दिन फलाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौं–दुवई उडान गर्न लागेको हो । 

जजिरा एयरले कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ । 

त्यसैगरी, थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ । उक्त एयरलाइन्सको प्राविधिक टोलीले केहीदिनअघि गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.