नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्रीको सम्झौता

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्रीको सम्झौता

काठमाडौं । नेपाल र बंगलादेशका उर्जा सचिवस्तरीय बैठकले ४० मेगावाट बिजुली बंगलादेश बिक्री गर्ने सम्झौता गर्ने निर्णय गरेको छ ।

आज काठमाडौंमा सम्पन्न नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको छठौं बैठकले विद्युत खरिद-बिक्रीको सम्झौता गर्ने निर्णय गरेको हो । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र बंगलादेशको विद्युत, उर्जा तथा खनिज मन्त्रालयका सचिव मोहम्मद हविबुर रहमानको सहअध्यक्षतामा बैठक काठमाडौंमा बसेको थियो ।  

नेपाल-बंगलादेश बीच ४० मेगावाट विद्युत व्यापारको शुरुवातको भोलि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत व्यापार निगमबीच त्रिपक्षीय सम्झौता हुनेछ । 

सचीवस्तरीय बैठकमा नेपाल-बंगलादेश अन्तरदेशीय विद्युत प्रसारण लाइनहरुको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी-३ जलविद्युत आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तर्देशीय विद्युत आयात-निर्यात गर्ने लगायतका विषयमा छलफल भई निम्नानुसारको सहमति भएको छ: 

१. नेपालमा उत्पादित ४० मे.वा. विद्युत बंगलादेशमा निर्यात गर्नका लागि भोलि असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसि विद्युत व्यापार निगम, भारत बीच विद्युत विक्री सम्झौता (Power Sales Agreement) मा हस्ताक्षर गर्ने ।

२. सुनकोशी-३ जलविद्युत आयोजना नेपाल, बंगलादेश र भारत बीच सहकार्यपूर्ण सहभागीता आधारमा विकास गर्ने र उक्त आयोजना विकास गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी संयुक्त उपक्रम सम्झौता (Joint Venture Agreement) मा अर्को बैठक अगाडि टुङ्गो लगाउने । साथै, सुनकोशी- ३ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारत हुँदै बंगलादेशसम्म पुऱ्याउने सुनिश्चितताको लागि भारत सरकारलाई अनुरोध गर्ने ।

३. नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरुको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने ।

४. नेपालको जलविद्युत क्षेत्रमा लगानीको प्रवर्द्धन गर्नको लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरुको खोजी गर्ने ।

५. वैकल्पिक ऊर्जाको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) र Sustainable and Renewable Energy Development Authority (SREDA), बंगलादेशबीच वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्र (MoU) लाई आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रुप दिने र हस्ताक्षर गर्ने ।

६. नेपाल, बंगलादेश र भारत बीच विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायतका विद्युत क्षेत्रमा सहकार्य गर्नका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ- आफ्नोतर्फबाट पहल गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.