बजारमा भित्रिन थाले दशैँका लागि खसीबोका र भेडाच्यांग्रा

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
बजारमा भित्रिन थाले दशैँका लागि खसीबोका र भेडाच्यांग्रा

काठमाडौं । दशैं सुरु भएसँगै बजारमा खसीबोका र भेडाच्यांग्रा भित्रिन थालेका छन् । अहिले उपत्यकाका कलंकी, टुकुचा लगायतका बजारमा मुस्ताङका भेडा च्याग्रा र विभिन्न जिल्लाका खसीबोका ल्याइएको छ ।

दशैंको समयमा हरेक वर्ष ४० देखि ४५ हजार खसीबोका र १० देखि १२ हजार भेडाच्यांग्रा उपत्यकाका बजारमा बिक्री वितरण हुने गरेका छन् । ३ सय भेडा च्यांग्रा र १५ सय खसीबोका ल्याउने तयारी गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खरिद सुरु गरेको छ । तर व्यवसायीहरूले भने मुस्ताङबाट म्याग्दी हुँदै ल्याएका भेडाच्यांग्रा काठमाडौं ल्याइसकेका छन् । 

उत्तरी नाकामा सहज आवतजावत भएका कारण यस वर्ष भेडाच्यांग्राको मुल्य गत वर्षको तुलनामा केही सस्तो हुने अनुमान गरिएको थियो । तर पछिल्लो समय आएको अविरल वर्षापछिको बाढी र पहिरोले बाटो अवरोध हुँदा भेडाच्यांग्रा राजधानी भित्रिन समस्या भएको छ । 

राजधानी भित्रिएका भेडाच्यांग्रा र खसीबोकाको स्वास्थ्य परीक्षण गरेर बिक्री वितरण सुरु भइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.