नेपालबाट बंगलादेशमा ४० मेगावाट बिजुली बिक्री गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात
आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालबाट बंगलादेशमा ४० मेगावाट बिजुली बिक्री गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपालले बंगलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा आज हस्ताक्षर भएको छ ।

नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच सम्झौता भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशको अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको हो । 

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङ र बीपीडीबीका अध्यक्ष मोहमद रिजाउल करिमले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भयो ।

यसअघि ४० मेगावाट बिजुली बिक्री गर्न गत साउन १३ मा सम्झौता हुने भनिएको थियो। तर सम्झौता नहुँदै बंगलादेशमा सरकारविरुद्ध विद्यार्थीको देशव्यापी प्रदर्शन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाड्नुभएको थियो । त्यसपछि बिजुली खरिदबिक्री सम्झौता के हुन्छ भन्ने अन्योल भएको थियो । तर बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने प्रक्रियालाई निरन्तरता दिने बताएपछि सम्झौता हुन लागेको हो ।

प्राधिकरणले वर्षायामका ५ महिना अर्थात् हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी छ । जसअनुसार ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । 

प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.