पहिरोले तातोपानी नाका बन्द, लगानी डुब्ने चिन्तामा व्यवसायी

आश्विन १६, २०८१ |कमला पाख्रिन
पहिरोले तातोपानी नाका बन्द, लगानी डुब्ने चिन्तामा व्यवसायी

सुन्धुपाल्चोक । बाढीपहिरोका कारण कोदारी राजमार्ग अवरुद्ध भएपछि तातोपानी नाका हुँदै आएको आयात व्यापार ठप्प भएको छ। भोटेकोशीले लिपिङको पक्की पुल र लार्चास्थित बेलीव्रिज बगाएपछि दशैंको मुखैमा नाका बन्द भएको हो । जसका कारण दशैंका लागि सामान आयात गरेका व्यवसायी लगानी डुब्ने चिन्तामा छन् ।

गत शनिबार आएको भोटेकोशीको बाढीले पुल बगाएपछि दशैंका लागि चीनबाट सामान आयात गर्ने व्यवसायीको व्यापार ठप्प हुने अवस्था छ । फलफूल, पोसाक, जुत्ता, ब्याग, चप्पल, कस्मेटिकजस्ता सामान बाटैमा रोकिएपछि करोडौं रुपैयाँको लगानी डुब्ने अवस्थामा पुगेको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् ।

तातोपानी नाका अवरुद्ध हुँदा दशैंका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब नौ सयभन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भूभागमा अलपत्र परेका छन् । उता चीनतर्फ पनि सडक अवरुद्ध भएकाले सामान ल्याउन समय लाग्ने भएपछि व्यवसायी झन् मारमा परेका छन् । नेपालतर्फका सामान भने तुइनबाट तारेर भएपनि भन्सारसम्म ल्याउने व्यवसायीले जनाएका छन् ।

सडक डिभिजन कार्यालय चरिकोटले बाटो खुलाउन एउटा डोजर पठाएको छ त्यो पनि तेल सकिएर थन्किएको छ । विभागको डोजरले काम नगरेपछि भोटेकोशी गााउपालिकाले सडक सफा गर्न र हृयुमपाइप राख्नका लागि कोदारी राजमार्गमा ४ वटा डोजर दैनिक चलाउँदै आएको छ ।

दशैंको बेलामै कोदारी राजमार्गको भौतिक पूर्वाधारको अवस्था अत्यन्तै नाजुक छ । त्यसमाथि नाका नै अवरुद्ध हुँदा व्यवसायीको लगानी र भन्सारको नियमित राजस्वमा समेत असर परिररहेको छ । यसका लागि क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि तत्काल पहल थाल्नुपर्ने आवश्यकता छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।