यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो ।

गत वर्षको तुलनामा यस वर्ष उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिको सुधारमा टेवा दिने प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंकले गत आर्थिक वर्षको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष भने ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने प्रतिवेदनले जनाएको छ । यो नेपाल सरकारले गरेको आर्थिक वृद्धिको प्रक्षेपणभन्दा कम र गत साता एसियाली विकास बैंक एडीबीले गरेको भन्दा बढी हो । नेपाल सरकारले यस वर्ष ६ प्रतिशत र एडीबीले ४ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन् ।

यद्यपी प्रतिवेदनले बहुजोखिमहरू पनि पहिचान गरेको छ, जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिमसहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाई, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिमहरू रहेका प्रतिवेदनले औंल्याएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.