नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंकको निष्कर्ष

आश्विन ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंकको निष्कर्ष

काठमाडौं । एसियाली विकास बैंक एडीबीले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४ दशमलव ९ प्रतिशतले विस्तार हुने जनाएको छ । जुन आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३ दशमलव ९ प्रतिशतभन्दा बढी हो ।

एडीबीले आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुलगार्हस्थ उत्पादन बढ्ने बताएको हो ।

एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै सामान्य मनसुनसँगै समयमै धान रोपाइ सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि सफल हुने एडबीले जनाएको हो । त्यस्तै विद्युत् उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिने पनि बताइएको छ ।

पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवालगायतका गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ । लचक मौद्रिक नीति, पुँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा मुद्रा स्फिति ५ प्रतिशतभित्रै सीमित गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य हासिल हुने प्रक्षेपण एडीबीले गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement