
बागलुङ/ लमजुङ । बागलुङ र लमजुङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बागलुङमा पिकअफ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप जिप गएराति ढोरपाटन नगरपालिका-९ मा दुर्घटना हुँदा राजिन अदैको मृत्यु भएको हो ।
अदैको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभएको छ । दुर्घटनामा ढोरपाटन नगरपालिका-९ का २७ वर्षीय डिलबहादुर विक र बोवाङका २४ वर्षीय बसन्त अदै घाइते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ मा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खुदीबाट हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको जिप गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
मृत्यु हुनेमा जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
जिप खस्दा घाइते भएका उनीहरूको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।