वीरगन्ज । सन् २०२३ मा मात्रै झन्डै १६ लाख नेपाली बिदेसिए। बर्सेनि पढाइ र रोजगारीको खोजीमा लाखौँ युवा बिदेसिँदा त्यसको असर समग्र अर्थतन्त्रमा परेको छ। उच्च क्रय शक्ति र रचनात्मक क्षमता भएको युवा विदेश पलायन हुँदा पनि मानव पुँजी व्यवस्थापनमा सरकार गम्भीर नहुँदा नेपाली बजार नै प्रभावित हुन थालेको छ ।
अवसरको खोजीमा बिदेसिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको युवाहरूको यो भीडले नेपालको अर्थतन्त्र कुन दिशातिर गइरहेको छ भन्ने कुरालाई प्रस्ट पार्छ । सन् २०२३ मा मात्रै झन्डै १६ लाख नेपाली बिदेसिए । जसमध्ये झन्डै ९ लाख युवा रोजगारीका लागि र एक लाख अध्ययनका लागि बिदेसिएको तथ्यांकले देखाउँछ । सृजनशीलता र क्रय शक्ति उच्च रहेका उमेर समूहका युवा नै देश छाडेर बिदेसिँदा नेपाली बजारमै असर परेको उद्योगीहरू बताउँछन् ।
सृजनशील मानव पुँजीलाई उत्पादन क्षेत्रमा लगानी गरी स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नु पर्नेमा भएभरका मानव पुँजी विदेश पलायन हुँदा उत्पादन क्षेत्र त प्रभावित हुँदै गएको छ नै, बजारमा उपभोक्ताको समेत अभाव हुँदै गएको छ । उपभोग्य बस्तुको मागमा कमी आउँदा उद्योगधन्दा नै ठप्प हुने अवस्थामा पुगेको उद्योगीहरूको गुनासो छ ।
युवा जनशक्ति विदेश पलायन र यसको असरबारे हर क्षेत्र जानकार छ । त्यसमा पनि देशका मन्त्री र मुख्यमन्त्रीहरूलाई थाहा नभएको होइन । सार्वजनिक कार्यक्रममा यी विषयमा प्रश्न उठ्दा मानव पुँजीको व्यवस्थापनमा सरकार संवेदनशील रहेको उनीहरू औपचारिक जवाफ दिन्छन् ।
कृषि क्षेत्रको व्यावसायिकीकरण गरे मात्र पनि धेरै राम्रा अवसर सिर्जना हुन्छन् । उद्योग धन्दासँगै पर्यापर्यटन र सूचना प्रविधि क्षेत्र नेपालका लागि अर्को राम्रो अवसर हो । तर बजेट भाषणमा युवा उद्यमशीलता र रोजगारी सिर्जनाका चर्का कुरा गर्ने सरकार उद्योगधन्दाको क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको उत्पादन र त्यसको व्यवस्थापनमा चुकेको छ । जसका कारण थोरै आम्दानीका लागि नेपाली युवा विदेश पलायन भइरहेका छन् भने नेपालको कृषि र उद्योग क्षेत्र भारतीय मजदुरमाथि आश्रित हुँदै गएको छ ।