चियाको राजधानीमा कफीखेती फस्टाउँदो

भाद्र २७, २०८१ |विप्लव भट्टराई
चियाको राजधानीमा कफीखेती फस्टाउँदो

इलाम । चियाको राजधानी मानिने इलाममा पछिल्लो समय कफी खेतीको पनि विस्तार भइरहेको छ । धेरैजसो ठाउँमा किसान आफैं कफी खेती गरिरहेका छन् भने केहीमा स्थानीय तहले नै खेती प्रवर्द्धन गर्न सघाइरहेका छन् । 

कोशी प्रदेशभरमै इलाममा सबैभन्दा धेरै कफी खेती हुने गरेको छ । रोङ गाउँपालिकाले कफी खेतीमा विषेश कार्यक्रम नै ल्याएर विस्तार अभियान चलाएको छ । गाउँपालिकाले कफी खेतीका लागि उपयुक्त माटो र मौसम भएका ठाउँमा प्रवर्द्धन थालेको हो । ८ सय रोपनीमा कफी खेती विस्तार भएको यो गाउँपालिमा ३ सय ५० घरधुरीले कफी लगाएका छन् ।

गाउँपालिकाले कफी खेतीका लागि विभिन्न कार्यक्रम गरी किसानलाई आर्कषित गर्दै वाषिर्क ५ लाख किलो 'फ्रेस चेरी' उत्पादन गर्ने लक्ष राखेर काम गरिरहेको छ । रोङ इलामको दक्षिणी चुरे क्षेत्र समेटिएको गाउँपालिका भएकाले कफी उत्पादनको सम्भावना धेरै छ । गाउँपालिकाले कृषि विकास शाखामार्फत ७५ प्रतिशत अनुदानमा कफीका विरुवा वितरण गर्दै आएको र अघिल्लो चालु आर्थिक वर्षमा गरी ५५ हजार कफीका विरुवा वितरण गरिएको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले जनाउनु भयो ।

आफ्नै लगानीमा व्यावसायिकरुपमा कफी खेती गर्ने किसान पनि उल्लेख्य छन् । माङ्सेबुङ गाउँपालिका-१ तोभाङका याम कार्कीले सिंगो गाउँमै कफी खेती विस्तारको अभियान चलाउनुभएको छ ।

इलाममा २२ सय किसान कफी खेतीमा आवद्ध छन् । ११ हजार रोपनीमा फैलिएको कफी खेतीबाट वाषिर्क ७५ हजार किलो कफी उत्पादन हुन्छ । विश्व बजारमा नेपालबाट उत्पादित अर्गानिक कफीको माग बढ्दो छ । कूल उत्पादनमध्ये ७० प्रतिशत कफी कोरिया, जापान, अमेरिका, जर्मनी निर्यात हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली अर्गानिक कफीको माग बढ्दो छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement