पर्सा । के तपाईं नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ ? वा खरिद गरिसक्नुभएको छ ? यदि हो भने भीआईएन नम्बरबारे जानिराख्नुस् । होइन भने बिक्रेताले सवारी उत्पादन भएको साल फरक पारेर तपाईंलाई ठग्न बेर लगाउँदैनन् ।
प्रदेश ३ ०१०२४ च ४११५ नम्बरको सवारीसाधनका धनी बारा सिमराका नारायणप्रसाद घिमिरेले आफूसँग भएको पुरानो सवारीसाधन बिक्री गरेर नयाँ खरिद गर्नुभयो । चेसिस नम्बर 'MAT627221KLN42606' लेखिएको उहाँको सवारी धनी किताबमा उत्पादन मिति सन् २०२० लेखेको देखियो । टाटाले उत्पादन गरेको यो सवारीको उत्पादन मिति अनलाइनमा जाँच गर्दा वर्ष परिचय खण्डमा 'K' लेखेको देखायो । उत्पादन वर्षको संकेत 'K' भन्नाले सन् २०१९ लाई जनाउँछ । २०२० मोडेल भनेर सवारी खरिद गर्नुभएका घिमिरेलाई एक वर्ष पुरानो मोडल बेचेर टाटाको बिक्रेता सिप्रदीले ठगेकोमा उहाँ आक्रोशित हुनुहुन्छ ।
आयातकर्ताले सवारी उत्पादनको वर्ष नै फरक पारी उपभोक्तालाई ठगी गर्ने गरेको यो प्रतिनिधिमूलक घटना मात्रै हो । टाटा, अशोक लेल्यान्डजस्ता अनेकौं सवारीसाधन उत्पादक कम्पनीका नेपालस्थित आयातकर्ताले उत्पादन मिति फरक पारेर वर्षौंदेखि उपभोक्तालाई ठग्ने गरेको सूचना पाएपछि वीरगञ्ज भन्सारबाट आयात भएर वीरगञ्जस्थित यातायात कार्यालयमा दर्ता भएका सवारी साधनमध्ये अशोक लेल्यान्डको 'MB1PBEHD1PEDL9940f' चेसिस नम्बरको कागजातमा समेत छेडखानी गरिएको भेटियो । जनवरी ३१, २०२४ मा भन्सार जाँचपास भएको बसको यो चेसिसको उत्पादन वर्ष २०२४ उल्लेख भएको र याताताय कार्यालयले सवारीधनी किताबमा उत्पादन वर्ष २०२४ नै उल्लेख गरेको देखियो । तर, अनलाइनमा चेक गर्दा यो नम्बरको चेसिस २०२३ मा उत्पादन भएको देखियो ।
त्यस्तै, जनवरी ३१, २०२४ मै भन्सार जाँचपास भएको 'MB1PBEHD9PEEL9736' चेसिस नम्बर उल्लेख भएको अशोक लेल्यान्डकै अर्को सवारी साधनको उत्पादन वर्ष पनि भन्सारको प्रज्ञापनपत्रमा २०२४ नै उल्लेख भएको पाइयो । उक्त सवारीसाधन पनि यातायातमा दर्ता हुँदा उत्पादन वर्ष २०२४ उल्लेख गरेको देखियो । तर, अनलाइनमा चेक गर्दा २०२३ मै उत्पादन भएको देखियो । २०१९ पछि भन्सारबाट जाँचपास भएर यातायात कार्यालयमा दर्ता भएका विभिन्न कम्पनीका अनेकौं सवारीसाधनहरुको उत्पादन वर्ष एकदेखि तीन वर्षसम्म फरक पारेको पाइएको छ ।
भन्सार पास भएर आउने नयाँ गाडीमा समेत किन उत्दादन वर्ष फरक पर्यो भन्ने प्रश्नमा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगाना कम्पनीहरुले डकुमेन्टमा जे उल्लेख गरेर ल्याउँछन् त्यही नै उल्लेख गरिदिने र आफूहरुलाई यसबारे जानकारी नै नभएको बताउनु हुन्छ ।
यातायात कार्यालय वीरगञ्जका मेकानिकल इन्जिनियर नितेश्वर राय यादवको जवाफ पनि उस्तै छ । उहाँ भन्नुहुन्छ, 'भन्सारमा लेखिआएकोलाई हामीले मुख्य आधार मानिआएका छौं ।' उहाँले सही उत्पादन वर्ष पत्ता लगाउन भेहिकल आइडेन्टिफिकेसन नम्बर (भीआईएन) बाट सजिलो हुने बताउँदै त्यहीअनुसार कानुनी रुपमा व्यवस्था प्रस्ट हुनुपर्ने जनाउनु भयो ।
२०२३ मा व्यवसायीले एलसी खोलेर निश्चित समय बाटोमा खर्चेर भन्सार बिन्दुसम्म आइपुगेको सवारीसाधनको उत्पादन वर्ष २०२४ लेखिनु त्रुटी मात्रै हो त ? गाडी उत्पादन वर्षबारे आफू ठगिएको महसुस गरेका उपभोक्ता भने आयातकर्ताले भन्सार र यातायातका कर्मचारीसँग मिलेमतो गरी सवारीसाधनको उत्पादन वर्ष नै फरक पारेको आरोप लगाउँछन् ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष अजय अधिकारी भन्नुहुन्छ, '२०२० मा बनेका गाडी पनि २०२३ मा भन्सार पास गर्ने, यातायातमा दर्ता गर्ने र उपभोक्तालाई २३ बनाएर बेच्ने । त्यस्तै, २०२१ का गाडी २०२३ बनेका छन्, २२ का गाडी २४ बनेर आम उपभोक्तालाई भन्सार, यातायात व्यवस्था कार्यालय र आयातकर्ताको संलग्नतामा लुट्ने काम भइरहेको छ ।'
नेपालमा चेसिस नम्बर भनेर उपभोक्तालाई झुक्याउने गरेको नम्बर वास्तवमा अन्तर्राष्ट्रिय भाषामा भेहिकल आइडेन्टिफिकेसन नम्बर (भीआईएन) हो । १७ डिजिटको भीआईएनको हरेक टिजिटले सवारी साधन उत्पादन भएको देश, कम्पनी, इन्जिनको फिचर, उत्पादन वर्ष र उत्पादन भएको सवारीको सिरियल नम्बर समेतलाई संकेत गर्छ ।
जसमध्ये १०औं डिजिटले उत्पादन वर्षलाई जनाउँछ । यो सन् २०१० लाई आधार वर्ष मानेर गणना गरिन्छ । जसमा १० औं डिजिट 'A' ले २०१०, 'B' ले २०११, 'C' ले २०१२, 'D' ले २०१३, 'E' ले २०१४, 'F' ले २०१५, 'G' ले २०१६, 'H' ले २०१७, 'J' ले २०१८, 'K' ले २०१९, 'L' ले २०२० 'M' ले २०२१, 'N' ले २०२२, 'P' ले २०२३ र 'R' ले २०२४ लाई जनाउँछ । 'I', 'O', 'Q' 'U' र 'Z' अक्षर तथा शून्य अंकलाई भ्यालिड नमान्ने हुनाले भीआईएनमा त्यो कतै पनि उल्लेख हुँदैन । तर, यो कुरा उपभोक्तालाई जानकारी नगराएर मिलेमतोमा आयातकर्ताले वर्षौदेखि पुरानो उत्पादन वर्षको गाडी नयाँ वर्षको बनाएर उपभोक्ता ठग्ने गरेका छन् ।