२० वटा वाणिज्य बैंकमध्ये आधाको नाफामा गिरावट

श्रावण २१, २०८१ |सुदिल पोखरेल
२० वटा वाणिज्य बैंकमध्ये आधाको नाफामा गिरावट

काठमाडौं । नेपालको अर्थतन्त्रमा अझै मन्दी रहेको देखिएको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये आधाको नाफामा गिरावट आउनुका साथै वितरणयोग्य मुनाफा पनि घट्दो क्रममा रहेको तथ्यांक सार्वजनिक भएसँगै अर्थतन्त्र अझै संकटकै अवस्थामा रहेको देखिएको हो । 

निक्षेप थुप्रिइरहने, तर, कर्जा नजाने क्रम लामो समय रहँदा मूलकका आधा वाणिज्य बैङ्कहरूको नाफामा असर गरेको छ । यसबाहेक ऋण लगेकाहरूले नियमित व्याज र किस्ता नतिर्दा पनि  बैङ्कहरूको नाफामा गिरावट देखिएको छ । आर्थिक वर्ष २०७९/ ०८०को असार मसान्तसम्म ४ अर्ब ४४ करोड नाफा कमाएको एनआईसी एसिया बैंकको नाफा गत असारसम्म १ अर्ब ३८ करोडमा झरेको छ । 

बैंकको नाफा एकै वर्षमा ६८ दशमलव नौ एक प्रतिशतले घटेको छ । त्यसैगरी नेपाल बैंकको नाफामा ५१ दशमलव आठ शून्य प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०७९/ ०८०को असार मसान्तसम्म ३ अर्ब ४३ करोड नाफा कमाएको नेपाल बैंकले यो वर्ष १ अर्ब ६५ करोड मात्रै कमाएको छ । एनएमबी बैंकको नाफा पनि २७  प्रतिशतले घटेको छ ।     

आधा अर्थात् १० वाणिज्य बैंकले भने नाफा बढाएका छन् । नाफा उच्च बढाउने बैंकमा प्रभु, कुमारी र  प्राइम छन् । २०७९/ ०८० को असार मसान्तसम्म २८ करोड नाफा कमाएको प्रभु बैंकले यो वर्षको सोही अवधिमा ४ अर्ब ४८ करोड कमाएको छ । त्यसैगरी २०७९/ ०८० मा ५१ करोड कमाएको कुमारी बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड  कमाएको छ । र, प्राइम कमर्सियल बैंकले पनि १ अर्ब २ करोडबाट नाफा बढाएर ३ अर्ब ७७ करोड पुर्‍याएको छ । 

सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक देखिएको छ, जसले ७ अर्ब ६ करोड  नाफा कमाएको छ।  समग्र २० बैंकको नाफा गत वर्षको तुलनामा १३ दशमलव चार-शून्य प्रतिशतले बढेको देखिएको छ । तर, बैंकको वितरणयोग्य मुनाफा भने घट्दो क्रममा रहेको वित्तीय विश्लेषक बत्ताउँछन् । 

अझै पनि बैंकहरु घाटामा रहनुले आर्थिक स्थितिमा सुधार नआएको प्रस्ट छ । व्यापार, व्यवसायमा आएको कमीको असरले गर्दा बैंकबाट कर्जा बढ्न नसक्दा नाफामा गिरावट आएको हो । अबका दिनमा बैंकहरुले लगानी बढाउन सके त्यसले नाफामा दिगोपना दिन सक्नेछ । 


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement